यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सम्पूर्ण संस्कृत गुरुकुलहरूले शतप्रतिशत उत्तीर्ण दर हासिल गर्दै ऐतिहासिक सफलता प्राप्त गरेका छन् ।
संस्कृत शिक्षालाई जीवनको मूल आधार मान्ने विद्यार्थीहरूको निष्ठा, गुरूजनको समर्पण र गुरुकुल व्यवस्थापनको कुशल नेतृत्वले नेपालभरिका गुरुकुलहरूलाई सफलताको शिखरमा पुर्याएको छ ।
काठमाडौं महानगरपालिका-९ बत्तीसपुतलीमा अवस्थित श्रीवेङ्कटेश गुरुकुल विद्यालय पनि यो उत्कृष्ट श्रेणीमा पर्न सफल भएको छ । यहाँका विद्यार्थीहरूले उच्च श्रेणीसहित शतप्रतिशत उत्तीर्ण भई गुरुकुल र सम्पूर्ण संस्कृत शिक्षाको मान बढाएका छन् ।
गुरुकुलका शिक्षक हरिकृष्ण भण्डारीका अनुसार यसपटक एसईईमा सहभागी भएका ६ जना विद्यार्थीमध्ये चार जना विद्यार्थीले ३.६ देखि ४.० जीपीए (A+) तथा दुई जनाले ३.२ देखि ३.६ जीपीए (A) ल्याएर सफल भएका छन् ।
गुरुकुलका विद्यार्थी गणेश ओझाले ३.८६, असिम न्यौपानेले ३.७८, कृष्णचन्द्र दाहालले ३.७२, शेखरप्रसाद घिमिरेले ३.५२, मधुसूदन भट्ट, ३.५२ र पुजन खनाल ले ३.४२ ल्याएका हुन् ।
गुरुकुलका प्राचार्य नवीन गौतमका अनुसार विद्यार्थीहरूको निरन्तर परिश्रम, अध्ययनप्रतिको श्रद्धा र शास्त्रीय अनुशासन नै यस सफलताको मुख्य आधार हो ।
गुरुकुलका अध्यक्ष श्री पुरुषोत्तमाचार्य स्वामी (उमेश नेपाल) ले यो उपलब्धिलाई सम्पूर्ण गुरुकुल परिवारको साझा गौरवको रूपमा व्याख्या गर्दै भने “विद्यार्थीहरूको समर्पण र संस्कारले गुरुकुल परिवारको शिर गर्वले उच्च बनाएको छ ।”
वि.सं. २०७५ सालमा स्थापित श्रीवेङ्कटेश गुरुकुल विद्यालयले अल्पकालमै गुणस्तरीय शिक्षा र संस्कारको समन्वय गर्दै धेरै अभिभावकको मन जितेको छ । गत वर्षको एसईई परीक्षामा पनि यस गुरुकुलले प्रशंसनीय नतिजा ल्याएको थियो ।
देशभरिका संस्कृत गुरुकुलहरूको यस्तो सशक्त प्रदर्शनले वैदिक शिक्षाप्रणाली अझ सुदृढ हुँदै गएको संकेत दिएको छ । परम्परा र प्रगतिको समुचित समन्वयका साथ संस्कृत शिक्षाले आधुनिक शिक्षा प्रणालीमा गौरवपूर्ण स्थान बनाउन सफल हुँदै गएको यस वर्षको एसईई नतिजाले स्पष्ट पारेको छ ।







