वर्षायाम सुरू भएसँगै देशभर डेङ्गी संक्रमणको जोखिम बढेको छ ।
स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार रसुवा, मनाङ, हुम्ला, डोल्पाबाहेक बाँकी ७३ जिल्लामा डेङ्गी संक्रमण पुष्टि भएको छ ।
६ महिनायता १ हजार ४ सयभन्दा धेरैमा डेङ्गी संक्रमण भएको छ । सबैभन्दा बढी बागमतीमा ३ सय ७१ जना, कोशीमा २ सय ९९, गण्डकीमा २ सय ५१ जना, लुम्बिनीमा २ सय ४५ जना, सुदूरपश्चिममा १ सय ८४ जना, कर्णालीमा ३२ जना र मधेशमा २१ जनामा संक्रमण पुष्टी भएको महाशाखाले जनाएको छ ।
डाक्टरका अनुसार पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्छ र ती फुल निस्किने लार्भा वयस्क भएपछि त्यसले टोकेमा डेङ्गी रोग लाग्छ ।
एडिस लामखुट्टे विशेषत: बिहान र बेलुकी घाम अस्ताउनुभन्दा अगाडि बढी सक्रिय हुने र त्यसैबेला संक्रमण बढी सार्छ । यो जातको लामखुट्टेले सफा जमेको थोरै पानीमा फुल पार्ने भएकाले पानी जन्म नदिन र सरसफाइमा विशेष ध्यान दिनुपर्ने डाक्टरहरुको सुझाव छ ।







