झापा ।तीन वटा स्थानीय तहलाई केन्द्र बनाएर झापामा बुधवारदेखि कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’खोप लगाउन सुरु गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय झापाले मेची प्रादेशिक अस्पताल भद्रपुर, अनारमनि अस्पताल बिर्तामोड र दमक अस्पताल दमकमा एकैसाथ कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेका हुन् ।
तीन वटै स्वास्थ्य केन्द्रमा एक संक्षिप्त कार्यक्रमको आयोजना गरी खोप लगाउन सुरु गरेको बताइएको छ ।
मेची प्रादेशिक अस्पतालमा भद्रपुरमा डाक्टर मनिष सुवेदीले पहिलो खोप लगाएर उद्घाटन गर्नुभएको थियो ।
त्यसपछि क्रमशः स्वास्थ्यकर्मी र महिला स्वयमसेविकाहरुले लगाएका थिए ।
खोप उद्घाटन कार्यक्रममा बोल्दै भद्रपुर नगरपालिका मेयर जीवनकुमार श्रेष्ठले विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले प्रमाणित गरिसकेको ‘कोभिशिल्ड’ खोपको विषयमा विभिन्न भ्रामक प्रचारप्रसार भइरहेकोले त्यसको पछि नलाग्न आग्रह गर्नुभयो ।
त्यस्तै मेची अस्पतालका मेसु डा. पीताम्बर ठाकुरले खोप लगाएपछि कसैमा कुनै स्वास्थ्य समस्या देखा परे सरकारकै निर्देशन बमोजिम अस्पतालमा त्यसको सम्पूर्ण तयारी पूरा गरिसकेको बताउनुभयो ।

यता स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख ईश्वरी पौडेलका अनुसार झापामा ११ हजार डोज खोप प्राप्त भएको जानकारी दिनुभयो ।
स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स र शबबाहनका चालक, सुरक्षाकर्मी र व्यवस्थापकीय कार्यमा खटिएका कर्मचारीलाई पहिलो प्राथमिकतामा राखेर खोप लगाउने कार्यक्रम सुरु भएको बताउँदै उहाँले पहिलो चरणमा ९ हजार २ सय ७३ जनालाई खोप लगाउने पहिलो टार्गेट रहेको बताउनुभयो ।
उनका अनुसार मेची अस्पतालमा भद्रपुर, मेचीनगर, हल्दिबारी र कचनकवल पालिकाका लागि खोप अभियान सञ्चालन गरिएको छ ।
अनारमनि अस्पतालमा बिर्तामोड, अर्जुनधारा, बुद्धशान्ति, झापा, कनकाई र बाह्रदशी पालिका र दमक अस्पतालमा दमक, गौरादह, गौरीगञ्ज, कमल र शिवसताक्षी पालिकाका लागि खोप अभियान सञ्चालन गरिएको बताउनुभयो ।
आधा मिल लिटर मात्रामा खोप पाखुराको मासुमा लगाइने र दोस्रो खेप चार हप्तापछि लगाइने उहाँले बताउनुभयो । खोप लगाउन स्वास्थ्यकर्मीहरूलाई तालिम दिइसकेको उहाँको भनाई छ ।
बिर्तामोडस्थित अनारमनि अस्पतालमा पहिलो खोप डाक्टर हेमन्त राठीले लगाउनुभयो । राठी बिर्तामोडमा लावण्य स्किन हेल्थ केयर सेन्टर सञ्चालन गर्दै आउनुभएको छ। बिर्तामोडको खोप अभियानको शुभारम्भमा नगरपालिका मेयर ध्रुव सिवाकोटीले लगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै दमक अस्पतालमा पहिलो खोप डाक्टर नवीन ढकालले लगाउनुभएको थियो । मकमा खोप अभियानको शुभारम्भ कार्यक्रममा राष्ट्र सभा सदस्य देवेन्द्र दाहाल, दमकका मेयर रोमनाथ ओली लगायतको उपस्थिति रहेको थियो ।







