नेपाल शिक्षक महासंघले २० चैतदेखि काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेको छ ।
माइतीघरदेखि बिजुली बजार पुलसम्म सडकको मुख्य लेन कब्जा गरेर उनीहरूले आन्दोलन गरेका हुन् ।
मुख्य लेनमा शिक्षकहरूले नाचगानसहित प्रदर्शन गरेका कारण प्रदर्शन अवधिभर मुख्य लेन भएर गाडी गुड्न पाएका थिएनन् । तर दुवै तर्फका सहायक लेनबाट भने मंगलबारसम्म निर्वाध गाडीहरू गुडिरहेका थिए ।
तर आज शिक्षकहरूले दक्षिण तर्फको लेन पनि कब्जा गरेर प्रदर्शन गरेका छन् । जसका कारण बानेश्वरबाट माइतीघरतर्फ गइरहेका गाडीलाई उनीहरूले बिजुलीबजार पुलबाट अगाडि बढ्न दिएका थिएनन् ।
बानेश्वर भएर माइतीघरतर्फ गइरहेको गाडीलाई शिक्षकहरूले अगाडि बढ्न नदिँदा बिजुलीबजार पुल क्षेत्रमा केहीबेर तनाव सिर्जना भयो । प्रहरी र आन्दोलित शिक्षकहरूबीच धकेलाधकेलसम्मको अवस्था सिर्जना भएको थियो ।
शिक्षक महासंघ र सरकारबीच आज वार्ता हुने भनिएको छ । सरकारसँग वार्ता गर्नका लागि शिक्षक महासंघले सहअध्यक्ष नानुमाया पराजुलीको संयोजकत्वमा वार्ता टोली पनि बनाइसकेको छ ।







