झापाका १३ वटा क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघले सबैभन्दा धेरै क्याम्पसमा विजयी हासिल गर्दै पहिलो संगठन बन्न सफल भएको छ ।
झापाको ९ वटा क्याम्पसमा नेविसंघ, तीन वटा क्याम्पसमा अनेरास्ववियु र एक क्याम्पसमा राप्रविसंघले स्ववियु सभापति जितेको छ भने माओवादीको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) ले एउटा क्याम्पसमा पनि जित निकाल्न सकेन ।
झापाको केन्द्रीय र ठुलो क्याम्पसको रूपमा रहेको मेची बहुमुखी क्याम्पसमा यस पटक महिलाको नेतृत्व पाएको छ । मेची क्याम्पसको सभापतिमा नेविसंघकी निलम कार्की सभापतिमा निर्वाचित भएकी छन् भने दमक बहमुखी क्याम्पसमा पनि नेविसंघकै भूपेन्द्र बस्नेत (भुवन) सभापतिमा विजयी भएका छन् ।
यस्तै कनकाई क्याम्पस सुरुङ्गामा नेविसंघबाट सभापतिमा वासुदेव निरौला, कनकाई आदर्श क्याम्पस बिर्तामोडमा किरण गुरुङ, इन्द्रचन्द्र क्याम्पस बिर्तामोडमा श्रीजित ढुङ्गाना सभापतिमा निर्वाचित भएका छन् ।
त्यसैगरी शनिश्चरे क्याम्पस अर्जुनधारामा विशाल थापा, काँकडभिट्टा क्याम्पस मेचीनगरमा सुरज राई, गौरीगञ्ज क्याम्पस गौरीगञ्जमा रोशन यादव, गौरादह कृषि क्याम्पसमा स्वर्णीम अधिकारी विजयी भएका छन् ।
त्यस्तै त्रिदेव बहुमुखी क्याम्पस चारआलीमा अनेरास्वयवियुका ईश्वर रिजाल सभापतिमा विजयी भए भने सितारमेश क्याम्पस बुद्धशान्तीमा अशोक भण्डारी र गौरादह बहुमुखी क्याम्पसमा तुलसीराम पौडेल निर्वाचित भएका छन् ।
त्यसैगरी बिर्तामोडको गरामनी क्याम्पसमा भने राप्रपाले जितेको छ । उक्त क्याम्पसमा राप्रपा निकट विद्यार्थी संघठनका केशव खरेल सभापतिमा विजयी भएका छन् ।







