पछिल्लो समय आफ्नो प्रस्तुतिमार्फत स्टेज तताइरहेका दुर्गेश थापाले एसइई परीक्षा अवधिभर कुनै पनि सांगीतिक कार्यक्रम नगर्ने घोषणा गरेका छन् ।
बुधबार सामाजिक सञ्जालमा एक पोस्ट राख्दै उनले यस्तो बताएका हुन् ।
दुर्गेशले परीक्षामा सहभागी हुन लागेका विद्यार्थीहरूलाई शुभकामना दिँदै एसइई अवधिकार कुनै कार्यक्रम नगर्ने घोषणा गरेका हुन् । एसइई परीक्षा भोलीदेखि सुरू हुँदैछ ।
दुर्गेशले लेखेका छन् ‘एसइई परीक्षा जीवनको महत्वपूर्ण घडी हो। केवल मनोरञ्जनमा मात्र होइन, उज्ज्वल भविष्यका लागि पनि म सँधै हजुरहरूकै साथमा हुनेछु । यतिबेला मलाई धेरै मेलारमहोत्सव तथा इभेन्टबाट कार्यक्रमका लागि कुरा आइरहेको छ । तर यदी म कार्यक्रम गर्दै हिँडे भने त्यसले पढाइलाई डिस्टर्ब गर्छ, ध्यान भंग गर्छ, अनि भविष्यमा असर पार्न सक्छ । यी कुराहरूलाई मध्यनजर गर्दै एसइई परीक्षा अवधिभर मैले कुनै पनि कार्यक्रम नगर्ने घोषणा गर्दछु ।’
उनले एसइई अवधिभर सञ्चालन हुने कार्यक्रमको लागि आफूलाई सम्पर्क नगर्न समेत अनुरोध गरेका छन् ।
एसइई दिने तयारीमा रहेका विद्यार्थीलाई शुभकामना दिँदै दुर्गेश लेख्छन्, ‘पढाइमा गरिएको लगानी कहिल्यै खेर जाँदैन । सफलता हजुरहरूकै हातमा छ, यसलाई मजबूत बनाउनुहोस् ।’
‘दुश्मन हेरेको हेर्यै’ गीत हिट भएपछि स्टेज कार्यक्रममा दुर्गेशको माग बढ्दो छ ।







