झापाको बिर्तामोड-३ मा निर्माणधिन धार्मिक विद्यालयका रुपमा दर्ता रहेर सामुदायिक विद्यालयका रुपमा सञ्चालित मदरसा तालिमूल कुरान आधारभूत विद्यालयलाई आर्थिक सहयोग जुट्न थालेको छ ।
सामाजिक व्यक्तित्वहरुले निर्माणधिन भवनको जग्गा खरिदका लागि २ लाख २१ हजार १५१ रुपैयाँ आज प्रदान गरेका छन् ।
सामाजिक व्यक्तित्वहरुले आइतबार विद्यालयमै पुगेर सहयोग रकम हस्तान्तरण गरेका हुन् । सामाजिक व्यक्तित्व सुवास भट्टराईले ५१ हजार, कुमार बुढाथोकीले ३१ हजार, युवराज निरौलाले २५ हजार, सोहनलाल राजवंशीले २५ हजार र डम्बर देउजाले २५ हजार रुपैयाँ सहयोग गरेका छन् ।
यसैगरी त्रिलोचन प्रसाईंले १५ हजार ५१ रुपैयाँ, मदन रसाईलीले ११ हजार १००, सुनिल शिवाकोटीले ११ हजार, राजेन्द्र लिङ्गदेनले ११ हजार, अम्बिर लिङ्गदेनले ११ हजार र कोशिस घिमिरेले ५ हजार रुपैयाँ सहयोग गरेको विद्यालयका अध्यक्ष अफरोज खानले जानकारी दिए । सहयोग गर्ने दाताहरुलाई धन्यवाद दिदै अध्यक्ष खानले अन्यलाई पनि सहयोगका लागि अपिल गरेका छन् ।
बिर्तामोड-३ मा चार कठ्ठा जग्गा खरिदको प्रक्रिया अगाडि बढाएर उक्त जग्गामा दाताहरु, स्थानीय, प्रदेश र संघीय सरकारको आर्थिक सहयोगले बाराबेरा र भवन निर्माण शुरु गरेको विद्यालयलाई आर्थिक सहयोग जुट्न शुरु भएको हो । आर्थिक अभावकै कारण पूरा जग्गा खरिद गर्न र भवन निर्माण गर्न नसकेको विद्यालयको जग्गा खरिदका लागि सहयोग प्राप्त भएको छ ।
हाल एक कठ्ठा ११ धुर जग्गा मात्र विद्यालयको नाममा पास भइसकेको र २ कठ्ठा ९ धुर जग्गा पास गर्न बाँकी रहेको विद्यालयका अध्यक्ष अफरोज खानले जानकारी दिए ।







