हिमाली जिल्ला ताप्लेजुङमा यस वर्ष सामुदायिक विद्यालयका पाठ्यपुस्तक समयमै आउन थालेको छ ।
स्थानीय पुस्तक तथा स्टेसनरी व्यावसायीमार्फत सामुदायिक विद्यालयको पाठ्यपुस्तक जिल्लामा भित्र्याउन थालिएको हो ।
नयाँ शैक्षिक सत्र सुरु हुनुलाई एक महिनाभन्दा बढी समय छँदै सामुदायिक विद्यालयका पाठ्यपुस्तक ल्याउन थालिएको हो । जिल्लामा नेपाल पुस्तक तथा स्टेसनरी व्यावसायी महासङ्घले पाठ्यपुस्तक ल्याउने गरेको छ । महासङ्घले यसवर्ष समयमै सामुदायिक विद्यालयका पाठ्यपुस्तकहरू ल्याउन थालेको हो ।
महासङ्घका जिल्ला अध्यक्ष ज्ञानप्रसाद मिश्रका अनुसार हालसम्म कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक ल्याई सकिएको छ । अध्यक्ष मिश्रले कक्षा १ देखि ४ सम्मका एक हजार ५०० सेट र कक्षा ५ को एक हजार सेट पाठ्यपुस्तक आइसकेको जानकारी दिए ।
उक्त कक्षाहरूको अनिवार्य विषयसँगै आ:निपान (लिम्बू भाषा), अङ्ग्रेजी माध्यमको गणित लगायतका ऐच्छिक विषयसमेत आइसकेको उनले बताए । यस्तै कक्षा ६ देखि १० सम्मका पाठ्यपुस्तक पनि फागुन मसान्तभित्र ल्याइसक्ने तयारी गरिएको मिश्रले बताएका छन् ।
बर्खायाम सुरु भइसक्दा पनि पाँचथरको हेवाखोलामा मोटरेवल पुल (मोटर गुड्ने पुल) बनाई नसकिएकाले पाठ्यपुस्तक ल्याउनलाई हतार गर्नुपरेको मिश्रको भनाइ छ । ढिलो गर्दा हेवाखोलामा बाढी आएर सडक अवरुद्ध हुन गई समयमा पाठ्यपुस्तक नआएर विद्यार्थीले पढ्न नपाउने अवस्था आउनसक्ने त्रासका कारण हतार गरेको उनले बताए ।







