झापाको अर्जुनधारा-९ स्थित सुखानी शहीद स्मृति उद्यान व्यवस्थापन समितिको आयोजनामा भएको अन्तर सामुदायिक क्याम्पसस्तरिय हाजिरी जवाफ प्रतियोगितामा गरुवा बहुमुखी क्याम्पस (माई) प्रथम भएको छ ।
५२ औं सुखानी शहीद स्मृति दिवसको अवसरमा शनिबार आयोजना गरिएको प्रतियोगितामा छिमेकी जिल्ला इलामको गरुवा बहुमुखी क्याम्पससहित झापा निर्वाचन क्षेत्र नं.२ अन्तरगतका चार वटा सामुदायिक क्याम्पसको सहभागिता रहेको प्रतियोगितामा शनिश्चरे बहुमुखी क्याम्पस (अर्जुनधारा) द्वितीय र इन्द्रचन्द्र बहुमुखी क्याम्पस (बिर्तामोड) तृतीय भएका छन् ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयका विद्यार्थीलाई नगद पुरस्कार क्रमश: नौ हजार, सात हजार, पाँच हजारसहित मेडल र प्रमाण पत्र प्रदान गरिएको छ ।
यसैबीच सोही दिन सम्पन्न भएको अन्तर सामुदायिक माध्यमिक विद्यालयस्तरिय चित्रकला प्रतियोगितामा मोहनमाया माविकी श्रेया राई प्रथम भएकी छिन् ।
छिमेकी जिल्ला इलामको कनकाई माविसहित झापा निर्वाचन क्षेत्र नं.२ अन्तरतका १३ वटा विद्यालयको सहभागिता रहेको उक्त प्रतियोगितामा अर्जुनधारा माविका पूजा दनुवार र भीम विक क्रमश द्वितीय र तृतीय तथा शनिश्चरे माविका सुजन शिवा सान्तवना भएका छन् ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्तवना हुने विद्यार्थीहरुलाई नगद पुरस्कार क्रमश: सात हजार, पाँच हजार, तीन हजार र दुई हजारसहित मेडल र प्रमाण पत्र प्रदान गरिएको छ । हाजिरी जवाफ प्रतियोगिताको क्वीज मास्टर पत्रकार उमाकान्त खनाल र चित्रकला प्रतियोगिताको निर्णायक पत्रकार पवनकुमार राजवंशी रहेका थिए ।
उद्यान व्यवस्थापन समितिका अध्यक्ष टंकप्रसाद बरालको अध्यक्षता र सुखानी शहीद स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष अर्जुन राईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा प्रमुख अतिथि राई, समितिका अध्यक्ष बराल, सदस्य एवम् कार्यक्रम संयोजक कमल गुरागाईं लगायतले उनीहरुलाई पुरस्कारहरु वितरण गरेका थिए ।
कार्यक्रम संयोजक गुरागाईंले कार्यक्रमको औचित्यसहित स्वागत गरेको कार्यक्रमको सञ्चालन उद्यानका व्यवस्थापक रुद्रमणि सुवेदीले गरेका थिए ।







