झापाको अर्जुनधारा नगरपालिका-५ बाँगेडाँगीमा रहेको श्री समाजसेवी आधारभूत विद्यालयको ३० औं वार्षिकोत्सवका अवसरमा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।
६० जना विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा सोमबार वार्षिक उत्सवका अवसरमा दाताहरुले शैक्षिक सामाग्रीका रुपमा पोशाक, कापी र डटपेन वितरण गरेका हुन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकनाथ अधिकारी (महेन्द्र) को अध्यक्षतामा भएको कार्यक्रममा अर्जुनधारा-५ का वडाध्यक्ष गीताराज खड्का (हरि) को प्रमुख आतिथ्य रहेको थियो ।
विद्यार्थीहरुलाई बिर्तामोड-५ को एचसी गार्मेन्ट, श्रेष्ठ प्लाष्ट्रिक र प्रेमानन्द शरण (रोशन) पोखरेलले संयुक्त रुपमा विद्यालयको पोशाक वितरण गरेका थिए ।
यसैगरी समाजसेवी गोबिन्द कार्कीले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री अन्तरगत कापी र डटपेन वितरण गरेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अधिकारीले जानकारी दिए ।
उक्त कार्यक्रममा वडाध्यक्ष तथा प्रमुख अतिथि खड्का, कार्यपालिका सदस्य चन्द्रकुमारी तामाङ, गोबिन्द कार्की, गणेश कार्की, डम्बर घिमिरेलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सोही कार्यक्रमकाबीच विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रमसमेत प्रदर्शन गरेका थिए । कार्यक्रममा गोबिन्द कार्की, गोकर्ण कार्की, गणेश कार्की र चेतबहादुर साहलाई सम्मान गरिएको थियो ।
शिक्षिका कमला गुरुङले स्वागत गरेको कार्यक्रमको सञ्चालन कार्यबहाक प्रधानाध्यापक सिता अधिकारी सिटौलाले गरेकी थिइन् ।







