सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले १४ औं वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको सिम्रिकले झापा दुई र पाँचथरको एउटा गरेर तीन वटा विद्यालयमा आज शैक्षिक सामग्री वितरण गरेको हो । बिर्तामोड-६ स्थित सरस्वती माविमा १६२ जना विद्यार्थीहरलाई आज ब्याग वितरण गरिएको छ ।
बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यतामा विद्यार्थीहरुलाई ब्याग वितरण गरिएको सिम्रिकका कर्मचारी विजय पाण्डेले जानकारी दिए । गरिब तथा विपन्न विद्यार्थीहरुलाई पहिचान गरेर व्याग वितरण गरिएको हो ।
व्याग वितरण कार्यक्रममा कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले संस्थाले वार्षिकोत्सवलाई सामाजिक काम गर्दै मनाएको जानकारी दिए । विभिन्न समयमा आफ्नो कार्यक्षेत्रभित्र न्यानो कपडा वितरण, शैक्षिक सामग्री, वृद्धवृद्धाहरुलाई ब्लाङकेट वितरण गर्दै आएको उनको भनाई छ ।
संस्थाले आजै पाँचथर फिदिम-४ मा रहेको सिद्धकाली प्राविका २९ जना र भद्रपुर-४ स्थित महेशपुर आधारभुत विद्यालयका १०० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो ।
संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय अगुवा, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरु, अभिभावकहरु लगायतको उपस्थिति रहेको थियो ।







