झापाको बिर्तामोड-५ मा अवस्थित न्युट्न्स एजुकेसन एकेडेमीले स्वर्गीय हरिकुमार प्रसाईं अन्तर मावि स्तरीय गणित हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्ने भएको छ ।
विद्यालयले संस्थापक प्रिन्सिपल स्वर्गीय प्रसाईंको स्मृतिमा माघ १८ गते कार्यक्रम गर्न लागेको विद्यालयका प्रिन्सिपल देवेन्द्र हुमागाईंले जानकारी दिए ।
उनका अनुसार प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमश: २० हजार, १५ हजार, १० हजार र ५ हजारसहित प्रमाण पत्र प्रदान गरिने छ ।
त्यस्तै बिर्तामोड नगरपालिकाभित्र रहेर विभिन्न जनसेवामा क्रियाशिल पूर्व विद्यार्थीहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको प्रिन्सिपल हुमागाईंले बताए ।
उक्त सम्मान कार्यक्रम भने विद्यालयको वार्षिकोत्सव तथा अभिभावक भेलाको अवसर पारेर माघ १७ गते गर्ने जनाइएको छ । वार्षिकोत्सवको उद्घाटन कोशी प्रदेशका खानेपानी, सिचाई तथा उर्जा मन्त्री एकराज कार्कीले गर्ने हुमागाईंले जानकारी दिए ।







