प्रदेश सांसद कमला थापा मगरका छोरा अशेष थापा मगरले शनिश्चरे सेवा केन्द्रको कर्मचारी रहेका बेला अपचलन गरेको भनी लाखौ रकम स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्थाले तिराउन खोजेको आरोप लगाएकी छिन् ।
बिर्तामोडको अग्रसेन भवनमा सोमवार आयोजित स्वरोजगार भवानी साकोसको १७ औं वार्षिक साधारण सभाको प्रमाणीकरण सभा र छैठौ निर्वाचन कार्यक्रममा प्रदेश सांसद कमला थापा मगरले आफुलाई जालसाझी गरि अपचलनको आरोप लगाई जग्गा र रकम सहकारीका मान्छेको नाममा गराउन लगाएको कुरा राख्न खोज्दा आफूलाई सभा बिथोल्न खोजेको भन्दै कार्यक्रममा बस्न नदिएको बताएकी छिन् ।
प्रदेश सांसदका छोरा थापा मगर स्वरोजगार भवानी साकोसको शनिश्चरे सेवा केन्द्रका प्रवन्धक रहेका बेला त्यहाँ उनले ६७ लाख ८० हजार रुपैयाँ अपचलन गरेको अध्यक्ष केशब बस्नेतले बताए । त्यस्तै उनले फर्जी ऋणी खडा गरी साढे १८ लाख रुपैयाँ हिनामिना गरेको बताइएको छ ।
हिनामिना रकमका सम्बन्धमा प्रदेश सांसद मगरले बिर्तामोड ६ को स्यालडाँगीमा रहेको साढे १८ धुर जग्गा सहकारीका ब्यक्तिको नाममा राजीनामा पास गरिदिएकी थिइन् । त्यसको मूल्यांकन ३७ लाख रुपैयाँ भएको बताइएको छ । तमसुक गरेको रकममध्ये १२ लाख रुपैयाँ किस्ता किस्तामा तिर्दै आएकि थिइन् ।
आफ्नो जग्गा फिर्ता गर्नुपर्ने र बाँकी रकम नतिर्ने मगरले अडान लिएपछि उत्पन्न विवाद मिल्न सकेको छैन । सांसद मगरले सहकारी मन्त्रालयमा दिएको निवेदनका आधारमा प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय इनरुवा सुनसरीले सहकारी संस्थाको साधारण सभा रोक्न निर्देशन दिएको थियो । पुष २६ गते रजिष्ट्रार कार्यालयले पठाएको पत्रलाई लिएर उनले साधारण सभा रोक्न माग गरेको बताइन ।
प्रदेश सांसद मगरले सोमबार दिउँसो पत्रकार सम्मेलन गरी आफूलाई गलहत्याएर निकालेको भन्दै आफ्नो छोराले ७ लाख रुपैयाँ हिनामिना गरेको दावी गरेकी छन् ।







