इलामको रोङ गाउँपालिकाले अभिभावक शिक्षा प्रभावकारी बनाउन मोबाइल एप (डिजिटल) प्रर्णाली सुरु गरिएको छ ।
गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकलाई विद्यालयप्रति रुचि बढाउनका लागि मासिक रुपमा अभिभावक पढाउँदै आएको गाउँपालिकाले अभिभावक शिक्षालाई थप प्रभावकारी बनाउनका लागि मोबाइल एप (डिजिटल) प्रणाली सुरु गरिएको हो ।
पालिकाको शिक्षा तथा युवा खेलकुद शाखाले बाल स्याहार, घरबाटै शिक्षा दिन र बालबालिकाको स्वास्थ्य सुधारका लागि मोबाइल एप निर्माण गरी अभिभावकको सबै विवरण एपबाटै अद्यावधिक गर्न सुरु गरेको शिक्षा तथा युवा खेलकुद शाखा प्रमुख श्रुति तामाङले जानकारी दिए ।
प्रयास प्रारम्भको प्राविधिक सहयोगमा अभिभावकको सबै विवरण राख्ने गरी निर्माण गरिएको मोबाइल एप नेपालमै फरक र पहिलो अभिभावक शिक्षा सम्बन्धी एप भएको प्रयास प्रारम्भका विज्ञ लोकप्रिय खनालले बताए ।
अभिभावक उपस्थिति र मूल्याङ्कनको मापन गर्ने गरी तयार गरिएको मोबाइल एप शिक्षा शाखा, सहजकर्ता शिक्षक र विद्यालयले प्रयोग गर्ने गरी निर्माण गरिएको छ । उक्त एपमा विद्यार्थी नियमित भए/नभएको, अभिभावकले विद्यार्थीको पढाइबारे विद्यालयमा चासो राखे/नराखेको सबै जानकारी थाहा पाउन सकिन्छ । गाउँपालिकाले एक वर्षअघि देखि कार्यविधि नै बनाएर सामुदायिक विद्यालयका विद्यार्थीका अभिभावकलाई महिनामा एक पटक विद्यालयमा भेला पारेर अभिभावक शिक्षा दिँदै आएको छ । गाउँपालिकाले महिनामा एक दिन अभिभावक अनिवार्य विद्यालयमा आएर अभिभावक शिक्षा लिनुपर्ने र त्यो दिन विद्यार्थीले घरमा बसेर अभिभावकको काम गर्नुपर्ने बाध्यकारी कानुन नै निर्माण गरेको छ ।
हालसम्म गाउँपालिकाका ३० वटा सामुदायिक विद्यालयमा अध्ययनरत दुई हजार तीन सय विद्यार्थीका अभिभावकमध्ये एक हजार तीन सय बढीलाई अभिभावक शिक्षा दिइएको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले जानकारी दिए ।
उनले अभिभावक दर्ता, हाजिरी, अभिभावकको शैक्षिक मूल्याङ्कन, हाजिरी प्रतिवेदन, मूल्याङ्कन प्रतिवेदन र अभिभावक परिचय पत्रसमेत एपबाटै अध्ययन गर्न सकिने भएकाले पछिल्लो समय सामुदायिक विद्यालयप्रति अभिभावकको रुचि बढ्न थालेको जानकारी दिए ।







