झापाको मेचीनगर-७ स्थित झापा नेशनल स्कूल परिसर शुक्रबार फूलै फूलको गमलाले सजिएको थियो । विद्यालय परिसरमा अभिभावक र जनप्रतिनिधिहरुको निक्कै भिडभाड देखिन्थ्यो । विद्यालय पुगेका अधिकांश अभिभावक फूल सहितको गमला लिएर बाहिरी रहेका थिए । दृश्य देख्दा यस्तो लाग्थ्यो फूल नर्सरीमा फूल किन्ने मानिसहरुको भीड बढेको छ ।
मेचीनगरमा फरक प्रस्तुती दिँदै आएको झापा नेशनलले ‘फ्लावर फेस्टिवल’ आयोजना गरेको थियो । विद्यार्थीहरुले आफैले गमलामा रोपेर हुर्काएका फूलका विरुवा विद्यालय परिसरमा सजाएका थिए । उनीहरुले विद्यालय पुगेका अभिभावकहरुलाई फूलको महत्व दर्साउँदै फूल रोप्ने तरिका सिकाए अनि गमला सहितको विरुवा विक्री गरेका थिए ।
मेचीनगर-७ का वडाध्यक्ष प्रह्लादमणि ओलीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा प्रमुख अतिथि ओलीले विद्यालय स्तरमा आयोजना गरिएको फ्लावर फेस्टिवल झापा जिल्लामा पहिलोपटक देखेको बताए ।
विद्यार्थीहरुको कृषि प्रतिको झुकाव देखेर उत्साहित बनेका ओलीले भने, ‘प्रकृति र वातावरणसँग नानीहरुलाई घुलमेल हुने अवसर विद्यालयले मिलाएको छ । यसले उनीहरुलाई वातावरण संरक्षणमा लाग्न प्रेरित गर्नुका साथै ब्यावसायिक पनि बनाउँछ ।’
उक्त अवसरमा विद्यालयका प्रिन्सिपल कमल भेट्वालले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै झापा नेशनल स्कूलले विद्यार्थीको क्षमता विकासको लागि बिभिन्न कार्यक्रम गर्दै आएको बताए ।
सो कार्यक्रमको सञ्चालन शिक्षिका तुलसा गौतमले गरेकी थिइन् ।







