भूतपूर्व विद्यार्थी समाज महेन्द्ररत्न माध्यमिक विद्यालयले जेहेन्दार विद्यार्थीहरुलाई साइकल वितरण गरेको छ ।
बिर्तामोड-३ बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालयले प्रथम स्थापना दिवसको अवसरमा दुईजना छात्रालाई साइकल वितरण गरेको हो ।
साइकल पाउनेमा बिर्तामोड-९ कोलाटोली घर भई कक्षा ९ मा अध्ययनरत गोमा राजवंशी र बिर्तामोड-१० तेलगानी घर भई कक्षा ८ मा अध्ययनरत पवित्रा बोहोरा रहेका छन् ।
टाढाबाट विद्यालय धाउन समस्या भएका विद्यार्थीहरुलाई प्रतीकात्मक रुपमा सो सहयोग गरिएको विद्यार्थी समाजका अध्यक्ष राजकुमार पोखरेलले बताए । उनले विद्यालय र विद्यार्थीहरुको समस्यामा सघाउ पुर्याउनकै लागि भूतपूर्व विद्यार्थी समाज स्थापना गरिएको जानकारी दिए ।
विद्यार्थी समाजका अध्यक्ष पोखरेलको अध्यक्षता तथा विद्यालयका प्रधानाध्यापक खड्गप्रसाद खरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यार्थी समाजका पदाधिकारी तथा सदस्य, शिक्षक-शिक्षिका र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
उपाध्यक्ष मदन गोपाल सुब्बाले प्रकाश पारेको कार्यक्रमको सञ्चालन समाजका सदस्य काजी बुढाथोकीले गरेका थिए ।
विद्यार्थी समाजका अध्यक्ष पोखरेल र सदस्य रुपक थापा गोदारले एक-एक वटा साइकल प्रायोजन गरेका थिए ।







