निजी तथा आवासीय विद्यालयहरुको संगठन प्याब्सन बिर्तामोड नगर कमिटीको आयोजनामा भएको दुई दिने नगरस्तरीय सांस्कृतिक कार्यक्रममा विद्यार्थीहरुले प्रतिभा देखाएका छन् ।
बिर्तामोड-२ बेलडाँगीस्थित देवकुल स्कुलमा शनिबार र आज सञ्चालित प्रतियोगितामा नगरका २२ वटा विद्यालयका विद्यार्थीहरुले गायन र नृत्य प्रस्तुत गर्दै आ-आफ्ना प्रतिभा देखाएका हुन् ।
राष्ट्रिय नृत्यतर्फ चिल्ड्रेन इन्भाइरोमेन्ट प्रथम, बुद्धस्मृति द्वितीय र बिर्ता मोडल तृतीय भएको छ भने आधुनिक नृत्यतर्फ कंचन स्कुल प्रथम, एमिटी द्वितीय र कंचनजंघा तृतीय भएको छ ।
त्यसैगरी कक्षा ११ र १२ को गायनतर्फ विराट ज्योति प्रथम, कोहेड कलेज द्वितीय र इकम कलेज तृतीय भएको प्याब्सन बिर्तामोडका सह-कोषाध्यक्ष दीपक चम्लागाँईले जानकारी दिए ।
पहिलो दिन १२ वर्षमुनिको गायन, १२ वर्षमाथिको सिनियर गायन र कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुको सांस्कृतिक नृत्य प्रतियोगिता सञ्चालन गरिएको थियो ।
प्याब्सन बिर्तामोडका अध्यक्ष सुरेन्द्र खरेलको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि प्याब्सन झापाका वरिष्ठ उपाध्यक्ष तथा सांस्कृतिक कार्यक्रमका संयोजक छत्रबहादुर कार्की रहेका थिए ।
उक्त अवसरमा प्रमुख अतिथि कार्की, प्याब्सन झापाका सचिव हरिकृष्ण पाठकलगायतले मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन नगर सचिव दीपांखर मैनालीले गरेका थिए ।







