काठमाडौं । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मिलेर चुनाव लड्ने प्रस्ताव राख्नुभएको छ।
संसदको विघटन गरेर मध्यावधि चुनाव घोषणाको सिफारिस गरेपछि प्रधानमन्त्री ओलीले प्रचण्डलाई भेट्नुभएको थियो ।
बालुवाटारमा भएको भेटमा प्रचण्डले संसद विघटनको सिफारिस निरंकुश, घातक कदम भएको बताउनुभएको थियो। ‘यसले संसद विघटन मात्र होइन, प्रतिगमनतिर लैजान खोजेको त होइन भने आशंका उत्पन्न भएको छ’ प्रचण्डले भन्नुभएको थियो ।
जवाफमा प्रधानमन्त्री ओलीले ‘जे भयो भयो, मिलेर चुनावमा जाऔं र जितेर आऔं’ भनेको प्रचण्डले स्थायी कमिटी बैठकमा सुनाउनुभयो । त्यहीबेला राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरेर मध्यावधि चुनाव घोषणा गरेको सूचना आएपछि प्रचण्ड उठेर हिँड्नुभएको थियो ।







