विद्यार्थीहरुको पढाई बिग्रिने गरी बिर्तामोड नगरपालिकाले एक महिनाभन्दा बढी लामो दशैं विदा दिएको छ ।
असोज १७ गते घटस्थापनाका दिनदेखि छठ पर्व सकिएको दुई दिनपछि कात्तिक २५ गते विद्यालय लगाउने गरी नगरपालिकाले ३७ दिन लामो विदा दिएको हो । जसबाट विद्यार्थीहरुको पढाई बिग्रिने भएको छ भने शिक्षकहरुले सबै चाडबाड आनन्दले मनाउन पाउने भएका छन् ।
हिउँदे र बर्खे विदा कट्टा गरेर एक महिने दशैं विदा दिइएको बिर्तामोड नगरपालिका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले बताए । उनले प्याव्सन, एन प्याव्सन, शिक्षक महासंघलगायतका संघ संगठनको सल्लाह अनुसार नै सो विदा पारित गरिएको जानकारी दिए ।
विद्यालयहरुले आ-आफ्नो शैक्षिक क्यालेन्डरमा एक महिने विदा उल्लेख गरेका थिएनन् । शैक्षिक क्यालेन्डरमा उल्लेख नगरिएको विदा दिन नमिल्ने भन्दै बिर्तामोडका केही संस्थागत विद्यालयहरुले नगरपालिकाको त्यस निर्णयलाई नमान्ने भएका छन् । बिर्तामोडका केही संस्थागत विद्यालयहरुले भने दशैंंपछि पठनपाठन शुरु गरेको जनाइएको छ ।
बिर्तामोडसहित अन्य विभिन्न पालिकाहरुले पनि एक महिनाभन्दा लामो दशैं विदा दिएका छन् । प्रतिदिन दैनिकबाट







