नगरस्तरीय आधारभूत तह हाजिरीजवाफ प्रतियोगितामा देवी माध्यमिक विद्यालय प्रथम भएको छ ।
नेपाल शिक्षक संघ बिर्तामोडले संविधान दिवस २०८१ को अवसरमा आयोजना गरेको प्रतियोगितामा लक्ष्मी आधारभूत विद्यालय द्वितीय, महेन्द्र रत्न माध्यमिक विद्यालय तृतीय र मोहनमाया माध्यमिक विद्यालयले सान्त्वना स्थान हासिल गरेको छ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीहरूलाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो ।
नगरपालिकामा कक्षा ६-८ सम्म रहेका १४ वटा सामुदायिक विद्यालयमध्ये १३ वटा विद्यालयले प्रतियोगितामा सहभागिता जनाएका थिए ।
नेपाल शिक्षक संघ बिर्तामोडका नगर अध्यक्ष जयकुमार प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल शिक्षक संघ कोशी प्रदेशका अध्यक्ष तेजप्रसाद चौलागाईंको प्रमुख आतिथ्य रहेको थियो ।
उक्त अवसरमा बोल्दै प्रमुख अतिथि चौलागाईंले संविधानले व्यवस्था गरेको आधारभूत हक अधिकारका निम्ति कानुन निर्माण गरी कार्यान्वयन गरिनुपर्ने बताए । उनले विद्यालयहरूमा थुप्रै प्रकारका समस्याहरूलाई एकमुष्ट हल गर्न संघीय शिक्षा ऐन तत्काल जारी गरी श्रमजीवीहरूको समस्या समाधान गर्दै गुणस्तरीय सार्वजनिक शिक्षाको निम्ति काम गर्नु पर्ने जरुरी रहेको औल्याएका थिए ।
कार्यक्रममा नेपाल शिक्षक महासंघका केन्द्रीय सदस्य चन्द्रप्रसाद प्रसाई, नेपाल शिक्षक संघ जिल्ला उपाध्यक्ष धनकुमारी खरेल, नेपाल शिक्षक महासंघ बिर्तामोडका अध्यक्ष युवराज कट्टेल, महेन्द्र रत्न माध्यमिक विद्यालयका प्रधानाध्यापक खड्गप्रसाद खरेल, मोहनमाया माध्यमिक विद्यालय बिर्तामोडका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठ, देवकोटा आधारभूत विद्यालयका प्रधानाध्यापक सुवास राजवंशील गायतको आतिथ्यता रहेको थियो ।
नेपाल शिक्षक संघ बिर्तामोडकी उपाध्यक्ष सरस्वती दाहालले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन नेपाल शिक्षक संघ बिर्तामोडका सचिव युवराज ढकालले गरेका थिए ।







