झापाको धुलाबारीमा रहेको इस्ट होराइजन माविले फागुन २६ र २७ गते ‘वसन्त उत्सव’ आयोजना गर्ने भएको छ । वसन्त उत्सव विद्यालय परिसरमा सञ्चालन हुनेछ ।
विद्यार्थीको सिकाई अनुभवलाई व्यवहारमा उतार्ने लक्ष्यसाथ वसन्त उत्सव हुन लागेको विद्यालयका प्रिन्सिपल सञ्जीव राईले जानकारी दिए । विद्यालयमा सञ्चालित अतिरिक्त क्रियाकलापका विभिन्न २२ वटा विधाहरुबाट विद्यार्थीहरुले सिकेका कला प्रदर्शन गर्ने उद्देश्यले वसन्त उत्सव आयोजना गरिएको राईले बताए ।
‘हाम्रो सांस्कृतिक सिद्धान्तहरुको पुनरावलोकन’ भन्ने नाराका साथ हुन गइरहेको वसन्त उत्सवमा सिलाइबुनाइ, लाइभ पेन्टिङ, कुलिनरी आट्र्स, फोटोग्राफी, लाइभ म्युजिक एन्ड डान्स, ड्रामा, गार्डेनिङ, इलेक्ट्रिक क्लब, प्लम्बिङ, दुना एन्ड टपरा, ब्युटिसियन, कराते लगायत २२ वटा महत्वपूर्ण विधाहरुमा विद्यार्थीले कला प्रदर्शनी गर्ने प्रशासन प्रमुख सावित्री सापकोटाले जानकारी दिइन् ।
आम विद्यार्थीकै सक्रिय सहभागिता र सिर्जनशीलतामा हुन गइरहेको प्रतिभा प्रदर्शनीको पहिलो दिन कार्यक्रम उद्घाटन गरेर स्टलहरु राखिनेछन् । स्टलहरुमा विद्यार्थीहरुले आफैँ उत्पादन तथा निर्माण गरेका वस्तु तथा सामग्री राखिनेछन् । विगतमा पनि इस्ट होराइजनका विद्यार्थीले विभिन्न विधामा आफ्ना कला तथा प्रतिभा प्रदर्शन गर्दै आएका छन् । त्यसैलाई संस्थागत गर्न कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ ।







