बिर्तामोड । झापाको बिर्तामोड–४ स्थित शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित शिक्षा शिकोप निकेतन मन्टेश्वरी विद्यालयको तेस्रो वार्षिकोत्सव सम्पन्न भएको छ ।
बिर्तामोड–२ स्थित रामचोकमा रहेको विद्यालयले शुक्रबार विद्यालय परिसरमा विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिजा राईको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख तिलचन भण्डारीको प्रमुख आतिथ्य रहेको थियो । विद्यार्थीलाई किताबी ज्ञानको बोझ भन्दा पनि व्यावहारिक ज्ञान सिप सिकाउनुपर्नेमा उनले जोड दिए ।
शिक्षा सहकारीका अध्यक्ष सुब्रत न्यौपानेले सहकारी मोडल अनुसार विद्यालय सञ्चालन गरी गुणस्तरीय र सर्वसुलभ शिक्षा दिने काम भइरहेको बताए । प्रविधि र समयसापेक्ष शिक्षालाई विशेष प्राथमिकता दिइएको उनले बताए ।

प्रिन्सिपल रेश्मा घिमिरेले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि भण्डारी, शिक्षा बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष न्यौपाने, अभिभावक राजन भट्टराईले शुभकामना मन्तव्य राखेका थिए ।
सोही कार्यक्रमका अवसरमा विद्यालय सञ्चालनमा सहयोग गर्ने समाजिक व्यक्तित्व देवीप्रसाद सापकोटा र देवीप्रसाद संग्रौलालाई सम्मान गरिएको थियो ।
विद्यालयका उत्कृष्ट विद्यार्थी यान्सी तामाङलाई सम्मान गरिएको थियो भने विद्यालयमा सरस्वती पूजाको अवसरमा भर्ना भएका नयाँ विद्यार्थीलाई मायाको चिनोसहित स्वागत गरिएको थियो ।
विद्यार्थीहरुले नृत्य, गीत लगायतका प्रस्तुती दिएका थिए । कार्यक्रमको सञ्चालन शिक्षिका मिनाकुमारी प्रसाईं र तारादेवी गौतमले संयुक्त रुपमा गरेका थिए ।
यसअघि विद्यालयले आयोजना गरेको अतिरिक्त क्रियाकलाप र प्रतियोगितामा उत्कृष्ट भएका विद्यार्थीलाई मेडल प्रदान र प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाका कार्यपालिका सदस्य तीला गौतम, शिक्षा सहकारीका सल्लाहकार लीला बराल, सञ्चालक समिति उपाध्यक्ष हेमराज मिश्र, सञ्चालक समिति सदस्य उषा राई, रोहित काफ्ले, लेखा समिति संयोजक युवराज निरौला, लेखा समिति सदस्य याम खरेल लगायतको आतिथ्य रहेको थियो ।
२०७७ सालमा स्थापना भएको विद्यालयमा हाल ९५ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालय व्यवस्थापन समिति सदस्य लक्ष्मीप्रसाद घिमिरेले जानकारी दिए ।







