एकै पटकमा तिम्ल्याहा सन्तान जन्मिएको समाचार नौलो होइन तर पूर्वप्राथमिकदेखि स्नातक तहसम्म एउटै विषय अध्ययन गरेको समाचार सबैका लागि रोचक हुन सक्छ ।
तिम्ल्याहा दिदीबहिनी लबिबा खातुन, अतिका खातुन र सबिका खातुन अहिले नर्सिङको स्नातक तहमा अध्ययनरत हुनुहुन्छ । लबिबा महाराजगन्जस्थित इन्स्टिच्युट अफ मेडिसिन (आइओएम), सबिका धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र अतिका पोखरा नर्सिङ क्याम्पसमा भर्ना हुनुभएको छ । उहाँहरूले गत वर्ष चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालन गरेको एकीकृत प्रवेश परीक्षामा सहभागी भई छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन् ।
२०६२ चैत १६ गते वीरगन्जमा जन्कामिएका उनिहरूबिच पढाइमा सानैदेखि प्रतिस्पर्धा नै चल्थ्यो । प्राथमिक तहसम्म त उहाँहरूसँग प्रथम, द्वितीय र तृतीय स्थानका लागि अन्य विद्यार्थीले प्रतिस्पर्धा गर्न सक्दैनथे । उहाँहरूले माध्यमिक तहसम्म फरक स्थानका विद्यालयमा अध्ययन गर्नुभयो । “बाबु सरुवा भएर जता जानुहुन्थ्यो हामीलाई पनि त्यतै लैजानुहुन्थ्यो । त्यही भएर स्कुल पनि परिवर्तन भइरहन्थ्यो,” तिम्ल्याहामध्येकी अतिकाले भनिन ।
समिन अहमद र सबिला खातुनका तिम्ल्याहा सन्तान कक्षा १ देखि ५ सम्म काठमाडौँको सिनामङ्गलस्थित गुह्येश्वरी माध्यमिक विद्यालयमा पढ्नुभएको थियो । पढाइमा अब्बल भएकै कारण उहाँहरू कक्षा ६ नपढी इटहरीको कञ्चनजङ्घा बोर्डिङ स्कुलमा भर्ना हुनुभयो । पर्साको विन्ध्यवासिनी गाउँपालिका–५, निवासी समिन अहमद मस्जिदमा नमाज पढाउने शिक्षक हुनुहुन्छ । यसैले गर्दा उहाँको बेलाबेलामा सरुवा भइरहन्थ्यो ।
तीन जनाका एक जना भाइ छन् । विविध कारणले कक्षा १२ सम्म अध्ययन गर्न पाउनुभएकी आमा सबिला खातुनलाई पनि नर्सिङ अध्ययन गर्ने इच्छा भए पनि सो पूरा गर्न पाउनु भएन तर आफ्नो सपना छोरीहरूले पूरा गर्न लागेकामा खुसी छिन् ।







