झापा । ‘फोनिज युके पत्रकारिता सम्मान २०२३’ बाट झापाली अग्रज पत्रकार तथा यलम्वर टाइम्सका सम्पादक दिपीन राई (दिपेन्द्र चाम्लिङ) सम्मानित हुने भएका छन् ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेले हरेक वर्ष प्रदान गर्दै आएको उक्त पुरस्कारबाट सम्पादक राई सम्मानित हुने भएका हुन् ।
फोनिज युकेको २५ जनवरीमा बसेको बैठकले राईलाई ‘फोनिज युके पत्रकारिता सम्मान–२०२३’ प्रदान गर्ने निर्णय गरेको पुरस्कार छनौट समितिका प्रमुख सानाम छिरिङ शेर्पाले जानकारी दिए ।
उनका अनुसार सम्पादक राईसँगै ‘फोनिज युके पत्रकारिता पुरस्कार–२०२३’ बाट संगीता चेपाङ पुरस्कृत हुने छिन् ।
सम्मान र पुरस्कारको राशी २५–२५ हजार रुपैयाँ रहेको छ । सम्मानित सम्पादक राई २०४९ साल दैनिक विवेचनादेखि पत्रकारीतामा संलग्न भएका उनि हाल यलम्बर टाइम्सका सम्पादक–प्रकाशक तथा यलम्बर टाइम्स डटकममा कार्यरत छन् ।
त्यस्तै युवा पत्रकार संगीता चेपाङ नेपालमा अति अल्पसंख्यक र लोपोन्मुख चेपाङ समुदायका पत्रकार हुन् । लोपोन्मुख समुदायबाट पत्रकारिता पेसामा आवद्ध संगीता चितवनबाट प्रसारित इच्छा कामना एफएममा कार्यरत छिन् ।







