महागुरु तथा राष्ट्रिय विभूति फाल्गुनन्दको जन्मजयन्ती आज मनाइँदैछ ।
किराँत धर्मावलम्बीका गुरु तथा राष्ट्रिय विभूति फाल्गुनन्दले समाजसुधारका लागि खेलेको भूमिकाको कदर गर्दै पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम र झापा लगायत पूर्वी पहाडी जिल्लामा विभिन्न कार्यक्रम गरी हरेक वर्ष कात्तिक २५ गते जन्मजयन्ती मनाउने गरिएको छ ।
सामाजिक चेतना फैलाउने फाल्गुनन्दलाई समाज सुधार र व्यवहारिक आर्थिक नीति नियम बनाउने कुशल अर्थविद्का रूपमा समेत लिने गरिन्छ । राष्ट्रपति विद्यादेवी भण्डारीले फाल्गुनन्द जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किराँत धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सु-स्वास्थ्यका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
राष्ट्रपतिले किराँत धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा जोड दिने उहाँको प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने विश्वास समेत व्यक्त गर्नुभएको छ ।
यसैबिच , प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको १३६ औँ जन्मजयन्तीका अवसरमा सम्मान व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले आज ट्वीटमार्फत महागुरुप्रति उच्च सम्मान व्यक्त गर्नुभएको हो । उहाँको सन्देशमा भनिएको छ, ‘राष्ट्रिय विभूति, समाज सुधारक महागुरु फाल्गुनन्दको १३६ औँ जन्मजयन्तिका अवसरमा उहाँप्रति उच्च सम्मान प्रकट गर्दछु । यस अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा उहाँको शिक्षा र सत्प्रेरणाबाट आपसी एकता र सद्भाव वृद्धि होस् भन्ने कामना गर्दछु ।
राष्ट्रिय विभूति,समाज सुधारक महागुरू फाल्गुनन्दको १३६ औं जन्मजयन्तिका अवसरमा उहाँप्रति उच्च सम्मान प्रकट गर्दछु । यस अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा उहाँकाे शिक्षा र सत्प्रेरणाबाट आपसी एकता र सदभाव वृद्धि होस् भन्ने कामना गर्दछु ।
— K P Sharma Oli (@kpsharmaoli) November 10, 2020







