• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

एउटा ट्युसन कक्षाले फेरिएको बस्ती


  •    संवाददाता/ बिहिबार, माघ ०४, २०८०  

  • धनुषाधामको मुसहर बस्ती बालबालिकाको हल्ला र झगडाले दिनभर अशान्त रहन्थ्यो। फुसका घरवरिपरि फोहोर जम्मा भएको हुन्थ्यो। बालबालिकाहरू चरा र माछा मार्दै दिन काट्थे। केही बालबालिका आमाबाबुसँगै मजदुरीमा जान्थे, केही घरमै साना भाइबहिनीको हेरचाहमा बस्थे। स्कुल जाने साह्रै थोरै थिए।

    ससाना पाँच वटा टोल रहेको यो मुसहर बस्तीका पुरुषहरूबीच मदिराका सुरमा दिनहुँजसो झगडा भइरहन्थ्यो। कतिपय पुरुषहरू आफ्नी श्रीमतीलाई कुटपिट पनि गर्थे। यसरी मुसहर बस्तीमा हमेसा कोलाहल हुन्थ्यो।

    Advertisement

    करिब एक दशकयता अवस्था फेरिएको छ। बस्ती तुलनात्मकरूपमा निकै सफा र शान्त छ। स्कुल जाने उमेरका सबैजसो बालबालिका दिउँसो पढाइलेखाइमा हुन्छन्। पुरुषहरू आआफ्ना काममा व्यस्त रहन्छन्। बस्तीका अधिकांश परिवार गाउँमै मजदुरी गरेर गुजारा चलाउँछन्। केही युवा वैदेशिक रोजगारीमा छन्।

    यो परिवर्तनको जग हो २०७० सालमा बस्तीमा स्थापित लर्निङ सेन्टर अर्थात सिकाइ केन्द्र। त्यहाँ बालबालिका लागि बिहान बेलुका पढाइ हुन्छ। त्यो पढाइलाई उनीहरू ‘ट्युसन’ भन्छन्।

    Advertisement

    धनुषाधाम बजारनजिकै रहेका पाँचवटा मुसहर टोलका बालबालिका बिहान सात बज्नासाथ किताबकापी बोकेर ट्युसन पढ्न जान्छन्। दुई घण्टा पढेर घर फर्किन्छन् र खाना खाएर १० बजे स्कुल जान्छन्। स्कुलबाट फर्केपछि फेरि दुई घण्टा ट्युसन पढछन्।

    स्थानीय गैरसरकारी संस्था ‘मिथिला वाइल्डलाइफ ट्रस्ट’, स्थानीय बासिन्दा र दाताको सहयोगमा सिकाइ केन्द्र खोलेर ट्युसन सुरु भएको हो।

    सिकाइ केन्द्रमा मुसहर र अन्य सीमान्तकृत समुदायका २१३ जना बालबालिका पढ्छन् जहाँ अक्षर सिक्नेदेखि कक्षा आठसम्मका विद्यार्थी जम्मा हुन्छन्। तिनलाई पढाउने शिक्षक चार जना छन्। उनीहरू सबै मुसहर समुदायकै हुन्।

    शिक्षक लक्ष्मी सदाका अनुसार पहिले बस्तीका नगन्य बालबालिकामात्रै स्कुल जान्थे। स्कुलमा भर्ना गराइएका भए पनि अधिकांश बालबालिका पढ्न नगई दिनभर खेल्थे, माछा मार्थे, आमाबाबुसँग मजदुरीमा जान्थे।

    ट्युसन सुरु भएपछि बस्तीका बालबालिका पढ्न जम्मा भए।

    ‘सुरुमा त ट्युसनमा बालबालिका जम्मा गर्न गाह्रो थियो। जम्मा भएजतिलाई बिहान बेलुका दुुई–दुई घण्टा पढाउन थालेपछि बालबालिका थपिन थाले। अभिभावकहरू पनि सचेत भए,’ लक्ष्मीले भन्छिन्, ‘यहाँ पढ्न आउने बालबालिकालाई हामी स्कुल भर्ना गरिदिन्छौँ। हरेक महिना अभिभावको बैठक बोलाएर पढाइका बारेमा छलफल गर्ने गरेका छौँ।’

    बस्तीका बासिन्दा जसनी सदा र अशेश्वरका तीन छोराछोरी स्कुल जान्छन्। बिहानबेलुका ट्युसन पनि पढ्छन्। जसनी र उनका श्रीमान अशेश्वरले पढेनन्। उनीहरूभन्दा पहिलेका कसैले पनि पढेका थिएनन्। छोराछोरी स्कुल जान थालेपछि जसनी खुसी छिन्।

    उनीहरूलाई छोराछोरीले पढ्न पाऊलान् भन्ने लागेकै थिएन। बस्तीमै ट्युसन सुरु भएपछि र छिमेकीका छोराछोरी जान थालेपछि उनीहरूका छोराछोरी पनि जान थाले।

    ‘ट्युसनले हाम्रो टोल सुधारिदिएको छ। बच्चाहरू पढ्न थालेका छन्। उनीहरूको चालचलन पनि राम्रो भएको छ,’ जसनी भन्छिन्, ‘गाउँको सरकारी स्कुलमा राम्रो पढाइ हुँदैन। ट्युसनले हाम्रा छोराछोरीको पढाइ राम्रो भएको छ।’

    केही वर्षअघिको कुरा हो, २७५ परिवारको बस्तीमा नेपाल रेडक्रस सोसाइटी हरेक परिवारका लागि दुईकोठे पक्की घर र शौचालय बनाइदिने योजना लिएर आयो। धेरै परिवारले घर बनाउन मानेन्।

    स्थानीय बासिन्दा तथा वडा सदस्य प्रमिला सदाका अनुसार रेडक्रस सोसाइटीले घर बनाइदिने भनेर केके लेखेको कागजमा सहीछाप गराउँछ र पछि घर खोस्छ भन्ने हल्ला चल्यो। धेरैले पक्की घर बनाउन दिएनन्।

    प्रमिलाले भनिन्, ‘सहीछाप गराएर जग्गै कब्जा गर्ला भन्ने डर भयो। धेरै सम्झाएपछि ३५ परिवार पक्की घर बनाउन राजी भए। अरूले मानेनन्।’

    उनका अनुसार अशिक्षाकै कारणले मुसहर परिवारले रेडक्रसको प्रस्ताव अस्वीकार गरेका हुन्।

    बस्तीमा ट्युसन पढाउन थालिएपछि टोलका कतिपय युवा उच्च शिक्षामा समेत पुगेका छन्। केहीले त सरकारी सेवामा प्रवेश पाएका छन्। त्यहीँ ट्युसन पढाउँदै गरेका जितनरायण प्रहरी सेवामा प्रवेश गरेका छन्, उनका भाइ जितेन्द्र नेपाली सेनामा छन्।

    मिथिला बिहारी नगरपालिका, पुरन्दाहाका वातावरण अभियन्ता देवनारायण मण्डलले दस वर्षअघि ‘मिथिला वाइल्डलाइफ ट्रस्ट’ नामको संस्था दर्ता गराएर धनुषाधाम वन संरक्षणको अभियान सुरु गरेका थिए। त्यही क्रममा उनले हरेक दिन जंगलमा कुनै न कुनै जनावर र चरा मारेको देखे। यसरी जंगलमा शिकार गर्नेमा बालबालिका धेरै हुन्थे। कोही माछा मार्दै हुन्थे।

    ती सबै बालबालिका मुसहर बस्ती हुन् भन्ने थाहा पाएर देवनारायण उनीहरूको बस्तीमा गए। बालबालिकालाई जंगलमा जान नदिन छलफल सुरु गरे। उनले बालबालिकाहरू पढ्न जाँदैनन्, दिनभर घुम्छन्, जंगल चाहर्छन् भन्ने थाहा पाए।

    ‘अरू बस्तीका बालबालिका स्कुल जान्थे, घरमा पढ्थे तर मुसहर समुदायका बालबालिका दिनभर जंगलमै हुन्थे। अभिभावकहरूसँग छलफल गर्दा उहाँहरूले हाम्रा छोराछोरीलाई पढाइको व्यवस्था गरिदिनुहोस् भन्नुभयो,’ देवनारायणले भने, ‘हामीले पढाइका लागि लर्निङ सेन्टर खेलेर बिहानबेलुका ट्युसन पढाउने निर्णय गर्‍यौँ।’

    बस्तीका बासिन्दा हरेक घरका बालबालिकाले पढ्न पाउने र उनीहरूको भविष्य राम्रो हुने विश्वासले खुसी भए। एक अभिभावकले तत्कालका लागि थोरै जग्गा दिए। ट्युसन चलाउन सानो टहरो बनाउने कुरा भयो तर पैसा भएन। स्थानीय स्रोतसाधनले कच्ची टहरो बनाउन सबैले सकेको सहयोग गरे। कसैले बाँस दिए, कसैले काठ दिए त कसैले श्रमदान गरे।

    पढाइ सुरु भयो। पाँच, दस गर्दै हाराहारी ५० जना विद्यार्थी जम्मा भए। अझै धेरै बालबालिका आएका थिएनन्। आएका पनि नियमित थिएनन्। अभिभावकले पनि धेरै चासो राखेका थिएनन्।

    बालबालिकालाई पढ्न पठाउन टोलकै बासिन्दा प्रमिला सदा, जितेन्द्र सदा र चन्द्रदीप सदाले पहल गरे। घरघर गएर पढाइको महत्व बुझाए। बालबालिकालाई पनि सम्झाए।

    सब डिभिजन वन कार्यालय, धनुषाधामले ट्युसन पढाउने चार जना शिक्षकका लागि आधा तलब दिने निर्णय गर्‍यो। आधा तलब मिथिला बिहारी नगरपालिका, पुरन्दाहाका बासिन्दा नन्दकिशोर मण्डलले चन्दा संकलन गरेर उपलब्ध गराउन जिम्मा लिए।

    पढाइ सुरु भएको ६ महिना भएको थियो, एक दिनको हावाहुरीले लर्निङ सेन्टरको टहरो उडाइदियो। त्यसपछि लर्निङ सेन्टर टोलमै रहेको एउटा सार्वजनिक दलानमा सर्‍यो।

    विद्यार्थी संख्या बढ्दै गयो। ठाउँ अभाव भयो। वर्षाको मौसममा त्यहाँ समस्या हुन थाल्यो।

    मिथिला वाइल्ड लाइफ ट्रस्टले पर्यटकका लागि ‘द एक्स्पलोर मिथिला’ कार्यक्रम सञ्चालन गरेको थियो। एकपटक फिलिप नामका बेलायती नागरिक भ्रमणमा आएका थिए। उनी समाजसेवाको काममा संलग्न रहेछन्। काठमाडौं, बुटबल र अन्य केही ठाउँमा विपन्न परिवारका लागि केही काम पनि गरेका रहेछन्

    तिनै बेलायतीले एक वर्षका लागि शिक्षकको तलब र दुई कोठे घर निर्माणको वचन दिए।

    त्यतिन्जेलमा मिथिला वाइल्ड लाइफ ट्रस्टले लर्निङ सेन्टरका लागि ६ धुर जग्गा किनेको थियो। त्यही जग्गामा एउटा सानो घर तयार भयो। हालसम्म त्यही घरमा ट्युसन चलेको छ।

    ‘दस वर्षअघि मुसहर बस्तीमा पाँच प्रतिशत मान्छे पनि साक्षर थिएनन्। हरेक दिन कुनै न कुनै निहुँमा झगडा चलेको हुन्थ्यो। बालबच्चा पढ्न थालेपछि सबैको अवस्था फेरियो। मानिसहरू सचेत भएका छन्,’ प्रमिला भन्छिन्, ‘अहिले बालबालिकाले नै अभिभावकलाई नराम्रो काम नगर्न सचेत गराउँछन्। अहिले सबै मानिस आआफ्ना काममा छन्।’

    ट्युसनकै कारण एक दशकमा मुसहर बस्तीमा निकै ठूलो परिवर्तन भएको वातावरण संरक्षण अभियानी देवनरायणको भनाइ छ।

    ‘हामीले बालबालिका जंगल नपसून् भनेर ट्युसन पढाउन र स्कुल पठाउन थालेका थियौँ। अहिले अभिभावक र बालबालिका दुबैमा धेरै परिवर्तन देखिएको छ,’ उनी भन्छन्, ‘बस्तीको रहनसहन राम्रो भएको छ। सरसफाइ बढेको छ।’

    यसरी मुसहर बस्तीको लर्निङ सेन्टर सानै प्रयासले पनि बिस्तारै निकै ठूलो परिवर्तन ल्याउन सकिन्छ भन्ने दृष्टान्त भएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.