मंगलबार बिर्तामोड नगरपालिका वडा नम्बर ७ गरामनीस्थित बेल्स मोडल स्कुलमा बेलुन फुलाउने क्रममा हाइड्रोजन ग्यासको सिलिन्डर विस्फोट हुँदा एक जना गम्भीर घाइते भएपछि घटनाको ध्यानाकर्षण भएको प्याब्सन बिर्तामोडले जनाएको छ । बेल्स मोडल स्कुलले हिजो आयोजना गरेको स्पोर्टस् मीट कार्यक्रमको सजावटका लागि हाइड्रोजनको ग्यास सिलिन्डरबाट बेलुन फुलाउने क्रममा विस्फोट हुँदा अन्दाजी ५५ वर्षका भारतीय नागरिक गणेश सहनी घाइते भएका थिए । उनको चिन्ताजनक अबस्थामा भारतको सिलिगुडीमा उपचार भइरहेको छ ।
निजी तथा आवासीय अर्गनाइजेशन नेपाल नगर समिति बिर्तामोडले पनि प्रेस विज्ञप्ति जारी गरी बेल्समा भएको घटनाबाट सचेत बन्दै विद्यालयमा बालमैत्री, व्यबहार मैत्री र स्थानीय स्रोत साधनको प्रयोग गरी प्रयोगात्मक तथा अन्य गतिविधि गर्न गराउन अपिल गरेको छ ।
नगर प्याव्सन अध्यक्ष उत्तम खनाल र सचिव सुरेन्द्र खरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ , प्याब्सन बिर्तामोड नगर कमिटीले स्थलगतरुपमा हेर्दा विद्यालयले साबधानीपूर्वक एकान्तमा सो बेलुन फुलाउने कार्यक्रम गर्दागर्दै अचानक दुर्घटना हुन पुगेका कारण यस घटनाबाट सचेत बन्दै विद्यालयमा बालमैत्री, व्यबहारमैत्री र स्थानीय स्रोत साधनको प्रयोग गरी प्रयोगात्मक तथा अन्य गतिविधि गर्न गराउन हार्दिक अपिल गर्दछौं ।
विद्यार्थीहरुको कला, क्षमता विकासका लागि विद्यालयले गरेको गतिविधि प्रशंसनीय रहेपनि प्राबिधिक कारणबस दुर्घटना हुन पुगेको प्याव्सनले ठहर गरेको छ ।







