बिर्तामोड । झापाको बिर्तामोडमा नेवाः परिकार तालिम तथा साँस्कृतिक कार्यक्रम हुने भएको छ ।
नेपाल आदिवासी जनजाती महासंघ बिर्तामोड नगर समन्वय परिषदको आयोजनमा २१ दिने आदिवासी महोत्सव यहि मिति माघ ९ देखि ३० सम्म सञ्चालन हुन लागेको हो |
नेवाः देय् दवू प्रदेश समिति, नेवा मिसा दवू जिल्ला कार्य समिति, तथा नेवा देय दबू नगर समिति विर्तामोडको संयुक्त आयोजनामा नेवाः खाना परिकार तालिम र स्टल सञ्चालन हुन लागेको जनाईएको छ ।
नेवारी मौलिक परिकारको प्रदर्शन तथा बिक्री गर्ने उदेश्यले नेवाः परिकार तालिम तथा साँस्कृतिक कार्यक्रम आयोजना गरिएको नेवाः देय् दवू प्रदेश समितिका प्रदेश अध्यक्ष इन्द्र श्रेष्ठले बताए ।
नेवारी समुदायका सवैलाई खानेकुराका परिकार थाहा भएपनि बनाउन नजान्ने अवस्था रहेकाले आफ्नो संस्कृति तथा परिकारलाई नेवारी समुदाय सहित अन्य समुदायमा चिनाउन नेवाः परिकार तालिम तथा साँस्कृतिक कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ ।
माग ९ गते बिर्तामोडको धर्मकाटा मातामन्दिर मार्गमा हुने नेवाः परिकार तालिम तथा साँस्कृतिक कार्यक्रममा स्टल रहने र ती स्टलमा नेवारी परिकारहरु योःमरी( चाकु र खुवा ), वारा, बफ छोयला, चिकन छोयला, बफ मःमः, चिकन मःमः, भेज मःमः, वफ सुकुटी, चिकन सुकुटी, नेवारी खाजा सेट, नेवारी खाजा सेट भेज तथा नन्भेज लगायतका खानेकुरा उपलब्ध हुने नेवाः देय् दवू प्रदेश समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।







