बालकहरूको बालविवाह धेरै हुने मुलुकहरू मध्ये नेपाल विश्व कै शीर्ष दशमा पर्ने जनाएको छ। सो बिश्लेषणका अनुसार नेपालका २० देखि २४ वर्षका १० पुरुषहरूमध्ये एकको बाल्यावस्थामै विवाह भएको थियो।
विश्वका ८२ मुलुकहरूको तथ्याङ्कको आधारमा अध्ययनका अनुसार बालकहरूको बालविवाह धेरै हुने मुलुकहरू अफ्रिकाको उप-सहारा क्षेत्र, ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्र, पूर्वी एसिया र प्रशान्त क्षेत्र, र दक्षिण एसिया लगायतका क्षेत्रहरूमा पर्दछन्।
“बालविवाहले बालबालिकाको बाल्यावस्था हरन गर्दछ,” युनिसेफका कार्यकारी निर्देशक हेनरिएटा फोरले भने। “बालविवाह भएका बालकहरूले उमेर नपुग्दै वयस्कहरूको जस्तै जिम्मेवारी बहन गर्नुपर्छ जसको लागि उनीहरू तयार भएका हुँदैनन्। बालविवाह भएका बालकहरूले छिट्टै बाबुको भूमिका निभाउनुका साथसाथै परिवारको जिम्मेवारी पनि सम्हाल्नुपर्ने हुन्छ जसले गर्दा उनीहरू शिक्षा र रोजगारीका अवसरहरूबाट वञ्चित हुन्छन्।”
तथ्याङ्क अनुसार, मध्य अफ्रिकी गणतन्त्रमा सबै भन्दा धेरै बालकहरूको (२८ प्रतिशत) बालविवाह भएको छ भने निकाराग्वा (१९ प्रतिशत) र मदगास्कर (१३ प्रतिशत) पनि बालकहरूको बालविवाह धेरै हुने मुलुकहरूमा पर्दछन्। नेपाल दशौं स्थानमा पर्दछ र यो एक मात्र दक्षिण एसियाली मुलुक हो जहाँ बालक र बालिकाको उत्तिकै दरले बालविवाह भएको छ।
विश्वभरि कुल ७६ करोड ५० लाख बालबालिकाको बालविवाह भएको छ। बालविवाह हुनेहरूमा धेरै जसो बालिकाहरू छन्। २० देखि २४ वर्षका पाँच महिलाहरू मध्ये एकको १८ वर्ष उमेर पुग्नु अघि विवाह भएको थियो भने त्यही उमेरका ३० पुरुषहरू मध्ये एकको १८ वर्ष उमेर पुग्नु अघि विवाह भएको थियो।
बालविवाहले बालिकाहरूमा पार्ने असर, सोको कारण र दरका बारेमा धेरै अध्ययनहरू भएका छन् तर बालकहरूको बालविवाहको विषयमा भने थोरै मात्र अनुसन्धान भएको छ। बालविवाहको जोखिममा रहेका बालबालिका विशेष गरी निम्न आय परिवारका, ग्रामीण क्षेत्रमा बसोबास गर्ने र औपचारिक शिक्षा हासिल नगरेका वा कम हासिल गरेका हुन्छन्।







