बिर्तामोड । लघुबित्त र सहकारीका कारण श्रीमान खाडी मुलक र श्रीमती जंगल पस्नु पर्ने बाध्यता सिर्जना भएको बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईले बताएका छन् ।
युवा नागरिक समाजको प्रथम बार्षिकोत्सव तथा साधारणसभाका अवसरमा प्रमुख अतिथि रहेका प्रसाईले सम्बोधन गर्दै आइतवार (आज) बिर्तामोडमा लघुबित्त, सहकारी र भष्ट्राचार विरुद्ध एकजुट गरेर आगामी मंसिर ७ गतेबाट आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
‘लघुबित्तका सरहरु आउछन् भनेर महिलाहरु जंगल पस्नु पर्ने अवस्था छ’ प्रमुख अतिथि प्रसाईले भने ‘नेता जती भष्ट्रचारी भएका कारण यो अवस्था आएको हो ।’ उनले दुर्गा प्रसाईको नेतृत्वमा राजसंस्था स्थापित हुने आश्वसन समेत दिएका छन् ।
समाजका अध्यक्ष केशव भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत समाजकी संस्थापक केन्द्रिय सदस्य कविता ओलीले गरेकी थिइन् । कार्यक्रममा सल्लाहकार संयोजक जयनारायण ढुङ्गाना,इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी सुरज कार्की, समाजसेवी शेरबहादुर थापा, सल्लाहकार जानुका थापामगर, डा. लक्ष्मीप्रसाद मैनाली, अञ्जना ढुङ्गानालगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन रेणु ओडारीले गरेकी थिइन् ।
युवाहरुको चाहाना, सुशासन युक्त नगरको परिकल्पना’ भन्ने मुल नाराका साथ गठन भएको समाजले एक बर्षको अवधिमा गरेको सुधारका कार्यक्रम सहितको प्रतिवेदन अध्यक्ष भण्डारीले प्रस्तुत गरेका थिए । झापाको मेचीनगर, भद्रपुर, बिर्तामोड, अर्जुनधारा, बाह्रदशी, गौरीगञ्जमा पालिका स्तरीय कमिटी गठन भइसहेको र अन्य पालिकाहरुमा पनि समाजको कमिटी गठन निर्माण हुने अन्तिम चरणमा रहेको प्रतिबेदनमा उल्लेख छ ।







