झापा । कोशी प्रदेश नामाङ्कन खारेजीको माग सहित चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा सशस्त्र प्रहरीको लाठी प्रहारबाट गम्भीर घाइते धरान १५ का पदम लिम्बु लाजेहाङको शुक्रवार बिहान २.३० बजे निधन भएको प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले आज बिहान विज्ञप्ति जारी गर्दै जनाएको छ ।
उनको बिपी प्रतिष्ठान अस्पताल आइसियुमा उपचार भइरहेको थियो । थप उपचारका लागि हेलिकप्टर चार्टर गरी काठमाडौ लैजाने तयारी गरिरहेको अवस्थामा वीरतापूर्ण मृत्युवरण गरेको विज्ञप्तिमा छ ।
टाउकोमा चोट लागेका लाजेहाङलाई बुधवार राती बान्ता गरेपछि बेहोस भएको अवस्थामा उपचारार्थ बिपी पुर्याइएको थियो ।
धरान १५ मा बसोबास गर्दै आएका लाजेहाङ सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बुवान भोलेन्टियरका केन्द्रीय सह(कमान्डर थिए । ४२ वर्षीय लाजेहाङ मोरङ जिल्ला बेलबारी २ लालभित्तिमा हुर्किबाढीका छत्रबहादुर लिम्बुका छोरा हुन् । उनी २०५२ देखी लिम्बुवान आन्दोलनमा सक्रिय थिए ।
संयुक्त सङ्घर्ष समितिले विज्ञप्तिमा ‘लाजेहाङको हत्याको जिम्मा प्रदेश १ लाई षडयन्त्रमूलक ढङ्गले कोशी नाम राख्ने ८२ जना सांसदहरू, पार्टीहरू, मुख्यमन्त्री हिक्मत कार्की र वर्तमान प्रधानमन्त्री एवं नेपाल प्रहरीले लिनु पर्दछ ।’
लिम्बुको हत्याको अनुसन्धान गर्न छानबिन आयोग गठन गर्न माग गरिएको छ ।लाजेहाङलाई शहिद घोषणा गर्न माग गर्दै विज्ञप्तिमा लाजेहाङको हत्याको राजनीतिक बदला लिई छाडने, हत्याराहरूलाई कानुनी कठघरामा उभ्याउने, कोशी प्रदेश नाम खारेज गराउने प्रतिबद्धता जनाउँदै संयुक्त सङ्घर्ष जारी रहने जनाइएको छ । लाजेहाङको शव बिपी प्रतिष्ठानको शव गृहमा राखिएको छ ।







