झापा । सरकारले रासायनिक मलको खरिदमा कृषकलाई दिँदै आएको अनुदान घटाएको बिरोधमा झापामा प्रदर्शन भएको छ ।प्रदर्शनमा अनुदान कटौतिको बिरोध स्वरुप किसान तथा किसानपक्षधर व्यक्तिहरुले बोरा ओढेर सहभागिता जनाएका थिए ।
हातमा राष्ट्रिय झण्डा बोकेर प्रदर्शनमा उत्रिएका उनिहरुले रासायनिक मलको खरिदमा कृषकलाई दिँदै आएको अनुदान घटाउने निणर्य फिर्ता गर, किसानलाई समयमै मलखाद उपलब्ध गर, किसानको आँसुमा पौडी नखेल, बिना ब्याज बिना धितो कृषी ऋण उपलब्ध गरा लगायतका नारा लगाउदै प्ले कार्ड प्रदर्शन गरेका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला कमिटी झापाको संयोजनमा भएको प्रदर्शनमा झापाका बिभिन्न पालिकाका किसानहरुले सहभागिता जनाएको राष्ट्रिय स्वतन्त्र पार्टी झापाका सभापति उमेश खरेलले जानकारी दिए ।
प्रदर्शनपछि बिर्तामोडको मुक्तिचोकमा आयोजित कोणसभामा पार्टीका झापा सभापति खरेलले प्रदर्शन गर्नुका कारणहरुका बारेमा जानकारी गराएका थिए । उनले किसानलाई पर्न गएको मार्काको बिषयमा कँही कतै आवज नउठेकाले आफुहरुले झापाबाट राष्ट्रिय झण्डाकासाथ बिरोध र आन्दोलनको थालनी गरेको बताए ।

कोणसभालाई राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु शम्भु सुस्केरा ढकाल, प्रकाश पाठक र सुरेश कुमार पोखरेललगायतले सम्बोधन गरेका थिए । उनिहरुले राष्ट्रलाई नै पाल्ने भुमिका निर्वाह गरेका किसानहरुलाई राज्यले आर्थिक विभेद र दमन गरेको भन्दै अनुदान कटौति तत्काल फिर्ता गरी किसानहरुलाई थप राहातका कार्यक्रमहरु ल्याउन माग गरेका थिए । उनिहरुले कृषी बिमा निशुल्क गर्न, ५० प्रतिशत भन्दाबढी अनुदान दिन, कृषी उत्पादन बढाउन र कृषी उद्योग स्थापना गर्न माग गरेका थिए ।
गत फागुन २९ गते कृषि तथा पशुपन्छी विकास मन्त्रालयको मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको बैठकले अनुदान घटाउने निर्णय गरेको थियो । रासायनिक मलमा यसअघि समग्रमा ७० दशमलव ८२ प्रतिशत बराबर अनुदान दिइरहेकोमा अब ५९ दशमलव ०४ प्रतिशत कायम गरिएको छ । कृषि मन्त्रालयले यो दरलाई क्रमशः ५० प्रतिशतमा झारिने समेत बताएको छ ।
सरकारले मलको अनुदान घटाएसँगै कृषकले यसअघि खरिद गर्दै आएको मूल्य पनि बढेको छ । अनुदान कटौतीपछि आयात बिन्दुमा युरिया प्रतिकिलो २५, डिएपी प्रतिकिलो ५० र पोटास प्रतिकिलो ४० मा बिक्री वितरण हुनेछ । यसअघि आयात बिन्दुमा युरिया प्रतिकिलो १४, डिएपी प्रतिकिलो ४३ र पोटास प्रतिकिलो ३१ मा बिक्री वितरण भइरहेको थियो ।साबिकभन्दा अब युरिया प्रतिकिलो ११, डिएपी प्रतिकिलो रू सात र पोटास प्रतिकिलो नौ महँगो पर्ने भएको छ ।







