झापा । कोरोना भाइरस(कोभिड १९) को त्रासदीले विश्वभरकै जनजीवन प्रभावित छ । देशका हरेक क्षेत्र, हरेक तह र तप्का यो समय कुनै न कुनै रुपमा असर भोग्न बाध्य छन । शैक्षिक गतिविधि त झन ठप्प प्राय छ । अझ भनौं शिक्षा क्षेत्र सबैभन्दा धेरै प्रभावित छ ।
लकडाउनको समय छ । आममानिस देखि लिएर मजदुर, किसान, ब्यापारी, कर्मचारी, शिक्षक सबैका समस्या यो बेला उस्तै उस्तै छन । नयाँ केही गर्ने जोस जाँगर हराउँदै छ भने योजनाहरु पनि अलपत्र छन ।

अब के होला ? के गर्ने होला ? कैलेसम्म यस्तै हुने हो ? मनमा आईरहने यस्तै प्रश्नहरुले तनाव र समस्यालाइ बढाईरहेका छ । अनुत्पादक फुर्सदको समयमा उत्पन्न भैरहने यस्तै तनाब र समस्याहरुलाई एकातिर पन्छाएर फरक ढंगले सोच्ने हो भने नयाँ कुरा सिक्न र आफुलाई झन सृजनशील बनाउन यो समय उपयोग भने गर्न सकिन्छ । यहि उदाहरण प्रस्तुत गरेका छन् ओम बिक्रम नेम्वाङले ।
झापा कन्काई नगरपालिका ७ मा रहेको फक्तालुङ्ग एजुकेसन फाउन्डेसनका संस्थापक साथै एन प्याब्सन झापाका सचीव समेत रहेका उनी लकडाउन लाई रचनात्मक रुपमा प्रयोग गर्दै छन् । बिहान योगा गर्ने र घरको आन्तरिक कार्य सकेर उनी अचेल गमला तथा सजावटका सामाग्री निर्माणमा ब्यस्त हुन थालेका छन ।

खेर गइरहेका सामाग्रीहरुको प्रयोग गरि उनले बनाएका विभिन्न डिजाइनका कलात्मक बस्तुले जो कोहिको मन लोभ्याउने गर्छ। नेङ्वाङ्ग भन्छन्,- “लकडाउनले मानसिक रुपमा तनावग्रस्त बनायो, त्यसपछी ईन्टरनेटको सहयोग लिएँ र खेर गइरहेका सामाग्रीबाट प्रयोगमा ल्याउन सकिने वस्तुहरु बनाउन सिकेको हुँ ।” उनी थप्छ्न, – “अभिभावक र शिक्षकको चिन्ता बालबालिकाको भबिस्य अनि आन्तरिक समस्याले मन भुलाउन शुरु गरेको अहिले त रमाइलो लाग्छ । नानीहरु लाई पनि बेला बेला संगै राखेर सिकाउछु ।”
उनी लकडाउनको समयमा मन र दिमागसँगै शारीरिक तन्दुरुस्तीमा पनि ध्यान दिनुपर्ने धारणा राख्छन । उनी भन्छन,-“दिनभर यस्तै रचनात्मक काम गरेपछी बेलुका ब्याटमिन्टन खेल्छु । यसले एक किसिमको छुट्टै आनन्द दिँदो रहेछ ।”

पुराना कपडा, सिमेन्ट ,प्लास्टिकका बोतलबाट निर्माण गरिएका सामाग्री आकर्षक मात्र होईन टिकाउ पनि हुने उनको भनाइ छ । लकडाउनलाई बहाना बनाएर मनमा तनाब लिदै त्यसै बस्नुभन्दा हाम्रै वरपर खेर गैरहेका चिजवस्तुहरुबाट बन्नसक्ने सामाग्रीहरु बानाएर लकडाउनको सदुपयोग गर्न सकिने उनको सुझाव छ । उनले सिकेजस्तो कला हेर्दा सामान्य लागे पनि व्यावसायिक बन्न चाहनेहरुका लागि पनि नयाँ विकल्प हुन सक्ने नेम्बाङको बुझाई छ ।







