झापाको शिवसताक्षी नगरपालिका– ८, झिलझिलेस्थित वाटर किंगडम पार्क एण्ड रिसोर्टमा संस्कृति उत्थान महोत्सव हुने भएको छ ।
आदिवासी–जनजाति समुदायको संस्कृति, कला र भेषभूषाको प्रवद्र्धन गर्ने उद्देश्यले आगामी फागुन १ गतेदेखि ५ गतेसम्म संस्कृति उत्थान महोत्सव आयोजना हुने भएको हो ।
रिसोर्ट परिसरमा माघ ८ गते आयोजित पत्रकार सम्मेलनमा रिसोर्टका सञ्चालक राजकुमार संग्रौलाले ‘हाम्रा सांस्कृतिक धरोहर र मूल्य–मान्यतालाई जीवन्त बनाउने उद्देश्यले महोत्सव आयोजना हुन लागेको’ बताए ।
५ दिने महोत्सव अवधिभर यस भेगमा छरिएर रहेका आदिवासी, जनजातिहरुको मौलिक परिकारहरुको स्वाद लिन सकिने जानकारी दिएको रिसोर्ट व्यवस्थापनले परम्परागत सामग्री, कलाकौशल, पुरातात्विक महत्त्वका वस्तु, भाषा तथा लिपि, बाजागाजा, हातहतियार आदिको परिचयात्मक प्रदर्शनीसँगै प्रत्येक दिन फरक–फरक समुदायको सांस्कृतिक नृत्यहरु प्रस्तुत हुने पनि बताएको छ ।
प्रत्येक साँझ चर्चित स्थानीय तथा राष्ट्रिय कलाकारहरुका साथमा हुने सांगीतिक कार्यक्रममा कुनै प्रवेश शुल्क नलाग्ने भए पनि महोत्सवको अन्तिम दिन विशेष आकर्षणका रुपमा रहने नेपालको सर्वाधिक चर्चित सांगीतिक ब्याण्ड ‘१९७४ एडी’को सांगीतिक साँझमा भने ५ सय र हजार टिकट दरको सशुल्क प्रवेश शुल्क हुने आयोजकले जनाएको छ ।
रिसोर्टकी निर्देशक मेनुका संग्रौलाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन रिसोर्टका प्रबन्धक समीर संग्रौलाले गरेका थिए ।
करीब ५७ करोड रुपैयाँको लगानीमा सञ्चालनमा ल्याइएको सो वाटर किङ्गडम पार्क एण्ड रिसोर्ट केही समय यता आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।
झिलझिलेस्थित वाटर किंगडम पार्कमा संस्कृति उत्थान महोत्सव हुने
झिलझिलेस्थित वाटर किंगडम पार्कमा संस्कृति उत्थान महोत्सव हुने
Advertisement
तपाईको प्रतिक्रिया







