आज अङ्ग्रेजी नयाँ वर्ष सन् २०२३ को पहिलो दिन लाई स्वागत तथा नेपाली टोपी दिवसको अवसरमा झापाको कनकाई कर्मचारी परिवारले एक कार्यक्रमको आयोजना गरि नेपाली टोपी मनाएका छन ।नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि भन्दै केही वर्षदेखि स्वतःस्फुर्त रुपमा अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन सुरु गरिएको कनकाईनगर कर्मचारी परिवारले जनाएको छ। जङ्गबहादुर राणाकी बहिनी डम्बरकुमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलो पटक टोपी बनाएर उपहार दिएको सम्झना स्वरुप कनकाईन नगर कर्मचारीहरुको तर्फबाट पनि यो दिवस मनाईएको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले जानकारी दिनुभयो । नेपालीहरुको पहिचान नै ढाका टोपी हो भन्ने विश्व माझ चिनाउन र नेपाली टोपीको महत्त्व नेपालमा मात्र नभई विश्व माझ नै कायम राख्न कर्मचारीहरुले बिहान अफिस सुरु हुनु भन्दा१ घन्टा अगाडि नै सबै कर्मचारी कार्यलयमा उपस्थित भई नेपाली टोपीको महत्त्वको बारेमा चर्चा गरिएको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत न्यौपाने , योजना शाखाका प्रमुख विवेक भण्डारी , शिक्षा शाखाका प्रमुख पिताम्वर गौतम , स्वास्थ्य शाखाका प्रमुख खगेन्द्र दङ्गाल, नारायण प्रसाद अधिकारी , कृषि शाखाका प्रमुख यदुनाथ उप्रेती , लेखा शाखा प्रमुख दुर्गा खड्का , कर्मचारी विजय पाठक ,जमुना कटुवाल , मनिता राई संगीता पौडेल लगायतले टोपीको मत्तवको बारेमा आ- आफ्नो धारणा राख्नुभएको थियो। देशको मौलिक परम्परा र राष्ट्रियतासंग जोडिएकाले नेपालीले आजको दिनलाई महत्वपूर्ण र गौरवको दिन ठान्दछन् ।

अधिकांश नेपालीले टोपी लगाएर यो दिवस मनाउने गर्दछन् । नेपालमा पछिल्लोक्रममा हराउँदै गएको संस्कार र संस्कृतिलाई जोगाउन दिवसकै रुपमा मनाउन थालिएको छ ।
विकिपिडियामा उल्लेख भएअनुसार ढाका टोपी वा धाका टोपी ढाकाको कपडाबाट बनेको एक शिरपोश हो । ढाका टोपी नेपालीहरूको मौलिक पोशाक पनि हो ।
नेपालमा पाल्पाली र पूर्वेली ढाका टोपी निकै चर्चित छन् । यो टोपी बाहुन, क्षेत्रीले मात्र नभएर सबै जाति जनजातिले निकै सम्मानका साथ लगाउँछन् ।
उहिलेका जमानामा घरेलु धागाबाट मुख टाउको छोप्ने मखरल, टोपी र महिलाहरूले टाउकामा बाध्ने स्काप पनि बनाइन्थ्यो । सुरुवातमा धाका टोपी भनिन्थ्यो । पछि गएर यसको व्यापकता हुँदै जादा धाका टोपीलाई नै आजकाल ढाका टोपी भनिन्छ ।
जसलाई खसभाषामा ढाका टोपी भन्ने गरिएको छ । केहि मानिसहरु ढाका टोपीको ढाका शव्दलाई बंगलादेशको राजधानी ढाकासंग जोडेर पनि कुरा गर्छन् । तर्क गर्न र विविध कोण वा विचारबाट घटना र वस्तुको विश्लेषण गर्नु सही भए पनि ढाका टोपी चै नितान्त नेपाली उत्पादन नै हो ।
केहि विश्लेषकहरूले टाउको ढाक्ने हुनाले टाउको ढाक्ने टोपीलाई कालान्तरमा ढाका टोपी भनियो भनेर पनि भनेका छन् । नेपालमा धेरै प्रकारका टोपीहरु हजारौं वर्षदेखि लगाउने गरिएको छ ।
ढाका टोपी धेरै प्रकारका टोपीहरूमध्येको एक नेपाली टोपी हो । सन् २०१३ नोभेम्बर २६ मा सामाजिक संजाल फेसबुकमा एक सार्वजनिक पेज स्थापना गरी पहिलोपटक सार्वजनिक रूपमा जनवरी १ लाई “अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस“ र नेपाली टोपी लगाउने दिवस भनि सबैलाई नेपाली टोपी लगाउन आह्वान गरी यो दिवस शुरु गरिएको हो ।







