झापा ३ पौष । शिक्षासेवी हरिकुमार प्रसाईको स्मृतिमा निकालिएको प्रतिदिन दैनिकको विशेषांक न्यूटन्स् एजुकेशन एकाडेमीलाई हस्तान्तरण गरिएको छ । लेखकहरु आफैँ उपस्थित भएर प्रसाईको स्मृतिमा निकालिएको विशेषांक विद्यालयका प्रिन्सिपल देबेन्द्र हुमागाईलाई हस्तान्तरण गरेका हुन् ।
न्यूटन्स् एजुकेशन एकाडेमीका संस्थापक प्रसाईको क्यान्सर रोगका कारण १५ दिनअघि अमेरिकामा निधन भएको थियो । उनको शैक्षिक योगदानलाई समेटेर प्रतिदिनले विशेषांक प्रकाशन गरेको सम्पादक इन्द्रसिंह राजवंशीले बताए ।
विशेषांकमा १९ जनाले स्वर्गीय प्रसाईको योगदानका विषयमा आफ्ना अनुभवसहितका सामग्री प्रकाशन गरेका छन् । पत्रकार सरोज पौडेलले संयोजन गरेको कार्यक्रममा विभिन्न क्षेत्रका महानुभावको सहभागिता रहेको थियो ।

कार्यक्रममा एन प्याब्सनका कोषाध्यक्ष मोहन आचार्य, दुर्गा मावि गरामनीका प्रधानाध्यापक कृष्णप्रसाद पाठक, कञ्चनजङ्घा अङ्ग्रेजी स्कूलका प्रिन्सिपल गुरुभक्त न्यौपाने, समाजसेवी राजकुमार पोखरेल, पूर्व मन्त्री खगेन्द्र प्रसाई लगायतले स्वर्गीय प्रसाईको योगदानका विषयमा चर्चा गरेका थिए ।







