बिर्तामोड । बिर्तामोडस्थित न्युटन्स एजुकेशन एकेडमीले आज तिहार विशेष सांस्कृतिक कार्यक्रम गरेको छ ।

अभिभावकहरुको उपस्थितिमा कक्षा १ र २ मा अध्ययनरत नानी बाबुहरुको गीत, नृत्य एवम् देउसीभैलोको प्रस्तुति मार्फत् सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रिन्सिपल देवेन्द्र हुमागाईले बताए । विद्यालय तहका विभिन्न स्तरका बालबालिकाहरुलाई फरक फरक स्थान र समयमा तिहार विशेष कार्यक्रम गरिएको उनको भनाई छ ।
‘न्युटन्समा हामी किताबी ज्ञानमा मात्र बालबालिकालाई सिमित राख्दैनौं’, स्वागत मन्तब्य राख्दै प्रिन्सिपल हुमागाईंले भने ‘किताबका कुरा र बाह्य ज्ञानलाई सँगसँगै सिकाउँदै व्यवहारिक शिक्षा प्रदान गर्दछौं ।’
कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगर शिक्षा समितिका सदस्य तथा बिर्तामोड वडा नं. २ का वडाध्यक्ष किशोर पौडेलले मन्तब्य राख्दै बालबालिकाको शिक्षा माथिको लगानी बहुबर्से खेतीजस्तै भएको बताए ।
आफ्नो नेतृत्वमा रहेको वडालाई बालमैत्री बनाउन बजेटको व्यवस्था गरिएको सुनाउँदै वडाध्यक्ष पौडेलले समानता सँगसँगै समता हुन आवश्यक रहेको बताए ।
सबै सार्वजनिक निकायहरु अस्पताल, विद्यालय आदिमा निर्माण गरिने शौचालय, सिढी, विद्यालयको डेक्सबेञ्च, पानी पिउने धारो आदि बालमैत्री बनाउनु पर्छ भन्ने अभियानमा लागेर वडाध्यक्षको पद बहाली गरेर पहिलो बैठकबाटै निर्णय गरिएको पनि उनले स्मरण गरे ।
विद्यालय व्यवस्थापन समितिका सदस्य भावना आचार्य घिमिरेको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन शिक्षक मुना काफ्लेले गरेकी थिइन् । सो तिहार विशेष कार्यक्रममा कक्षा १ र २ का सबैजसो विद्यार्थीहरुले आफ्नो आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।







