बिर्तामोड २३ साउन । नेपाली कांग्रेसले विर्तामोड नगरपालिकाद्वारा निःशुल्क वितरण गरिने औषधिको ठेक्का विवादास्पद फार्मेसीलाई दिने निर्णयमाथि प्रश्न उठाएको छ ।
पार्टीको विर्तामोड नगर समिति र प्रदेश ‘क’ समितिले आइतवार नगरपालिकामा विरोध पत्र बुझाउँदै औषधिको विवादास्पद ठेक्का खारेज गर्न माग गरेको हो ।
कांग्रेसका कार्यवाहक सभापति सूर्यप्रसाद कन्दङ्वाका अनुसार विर्तामोड नगरपालिकाले अप्सरा बुढाथोकी सञ्चालक रहेको अमन फार्मेसीलाई औषधिको ठेक्का दिएको छ ।
सञ्चालक बुढाथोकी नगरपालिकाको स्वास्थ्य शाखाको प्रमुख ओम खड्काकी पत्नी भएको जनाउँदै कांग्रेसले कर्मचारीको नातेदारलाई ठेक्का लगाउनु कानून विपरीत हुने दावी गरेको छ ।
जनप्रतिनिधि तथा कर्मचारीका नातेदारलाई ठेक्का दिन नपाइने व्यवस्था सार्वजनिक खरिद ऐनको दफा ६२–६३ मा उल्लेख गरिएको कार्यवाहक सभापति कन्दङ्वाले बताए ।







