कोरोना भाइरस कोभिड–१९ को असर अहिले विश्वका २ सय १३ मुलुकमा फैलिसकेको छ । यद्यपि केही मुलुकमा भने अहिलेसम्म कुनै कोरोना संक्रमित फेला परेका छैनन् । यी मुलुकहरूमा वास्तवमा नै कोरोना संक्रमित छैनन् ,अहिले यी मुलुक के गर्दैछन् त ?
पलाउमा सन् १९८२ मा खुलेको ‘द पलाउ होटल’ त्यतिबेलाको एक महत्वपूर्ण उपलब्धि थियो । यो होटल निकै लोकप्रिय थियो किनकि त्यतिबेला त्यहाँ कुनै होटल नै थिएनन् । खुलेदेखि नै प्रशान्त महासागरको बीचमा होटल रहेको यो मुलुकमा पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको थियो । सन् २०१९ मा करिब ९० हजार पर्यटक पलाउ पुगेका थिए । यो संख्या मुलुकको जनसंख्याभन्दा पाँच गुणा धेरै हो ।
सन् २०१७ को अन्तर्राष्ट्रिय मुद्रा कोष ९आईएमएफ०को आँकडाअनुसार मुलुकको ४० प्रतिशत जीडीपीको हिस्सा पर्यटनले ओगटेको छ । यद्यपि यो सबै कोरोना भाइरसको महामारी आउनुभन्दा पहिलाको तथ्यांक हो । अहिले पलाउको सीमा गत मार्चदेखि बन्द छ । पलाउ कोरोना भाइरसका एकजना पनि संक्रमित फेला नपरेको १० मुलुक ९उत्तर कोरिया र तुर्कमेनिस्तानबाहेक मध्येको एक हो ।
यद्यपि कुनै पनि संक्रमित फेला नपर्दा नै यो मुलुक कोरोना भाइरसको चपेटामा परेको छ । ‘द पलाउ होटल’ गत मार्चदेखि नै बन्द छ । पलाउमा बन्द भएको यो एउटा मात्र होटल भने होइन । पलाउका सबै रेस्टुरेन्ट खाली छन् । जुन पसलमा पर्यटकहरू आफ्ना साथीलाई उपहार किन्न जान्थे, ती पसल अहिले बन्द छन् । अहिले विदेशबाट फर्किएका पलाउका नागरिकलाई क्वारेन्टिनमा राख्नका लागि तयार पारिएको होटल मात्र अहिले खुला छन् ।
द पलाउ होटलका प्रबन्धक ब्रायन ली भन्छन्, ‘यहाँको समुद्र विश्वको कुनै पनि स्थानको भन्दा सुन्दर छ ।’उनका अनुसार आकाश नीलो रङ्गको समुद्रले नै यहाँ पर्यटकहरूलाई लोभ्याउने गर्छ । कोरोना भाइरसको महामारीभन्दा पहिले उनको होटलमा रहेका ५४ कोठाका करिब ७०,८० प्रतिशत कोठाहरू सधैं भरिभराउ हुन्थे । तर सीमा बन्द भएसँगै उनको काम बन्द भएको छ । ब्रायन भन्छन्, ‘यो एक सानो मुलुक हो, त्यसैले स्थानीय मानिसहरू यहाँ आएर बस्दैनन् ।’
उनको टोलीमा करिब २० कर्मचारी छन् र कसैलाई पनि कामबाट हटाइएको छैन । यद्यपि उनीहरूको काम गर्ने समय घटाइएको छ । उनी भन्छन्, ‘म सधैं उनीहरूका लागि काम खोज्ने प्रयास गर्छु । जस्तो कि सामान मिलाएर राख्ने कुनै क्षेत्रको नवीकरणको काम वा अरू नै केही ।’
यद्यपि यस किसिमको काम सधैं हुँदैन । ब्रायन भन्छन्, ‘यसरी म ५ महिनासम्म होटल चलाउन सक्छु तर अन्तिममा मैले होटल बन्द गराउनै पर्छ । ब्रायन यस परिस्थितिका लागि सरकारलाई दोष दिँदैनन् । सरकारले पलाउका नागरिकहरूलाई आर्थिक सहायताको योजना अघि सारिरहेको छ । सबैभन्दा ठूलो कुरा कोरोना भाइरस महामारीलाई सफलापूर्वक मुलुकमा आउन दिएको छैन ।
कोरोना भाइरसका कुनै संक्रमित अहिलेसम्म नभेटिएका १० देश
पलाउ
माइक्रोनेसिया
मार्सल द्वीप समूह
नाउरु
किरिबाती
सोलोमन द्वीप समूह
तुभालु
समोआ
भानुआटु
टोङ्गा
स्रोतः बीबीसी







