काठमाण्डाै । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पदभार ग्रहण गरेका छन्। बिहीबार मुख्यमन्त्रीमा नियुक्त आचार्यले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट पद तथा गोपनीयताको शपथ लिएपछि कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन्।
बिहीबार बिहानै बसेको प्रदेश १ संसदीय दलको बैठकबाट सर्वसम्मत संसदीय दलको नेतामा चयन भएका आचार्यलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्रीको रूपमा शपथ गराएका हुन्। आचार्यलाई निवर्तमान मुख्यमन्त्री शेरधन राईको प्रस्तावमा संसदीय दलको नेता बनाइएको हो।
आचार्य दलको नेता चयन भएपछि राईले प्रदेश प्रमुख सोमनाथ प्यासीकहाँ मुख्यमन्त्रीबाट आजै राजीनामा बुझाएका छन्। आचार्यले प्रदेश सभाको बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतमा धारा १६८९१० बमोजिम मुख्यमन्त्रीको रूपमा शपथ लिएका हुन्।
बिहान ९ बजे नै संसदीय दलको बैठक बस्ने भनिए पनि शेरधन राई र भीम आचार्य काठमाडौंबाट आउन ढिलाइ भएपछि विराटनगर विमानस्थल नजिकैको एसियाटिक होटलमा एमाले संसदीय दलको बैठक बसेको थियो।
एमाले विभाजनपछि प्रदेश १ को संसदीय दलको बैठक पहिलो पटक बसेको हो । माधवकुमार नेपालको साथ छोडेर एमालेमै रहने निर्णय गरेपछि आचार्यलाई बिहीबार नै मुख्यमन्त्री बनाइएको छ। नेपाल पक्षका आचार्यसँगै प्रदेश सभा सदस्य बलबहादुर साम्सोहाङ, होमकुमारी सावा, जीवन घिमिरे, लक्ष्मण तिवारी, लिलाबल्लब अधिकारी, यशोदा अधिकारी र साबित्री जोशी एमालेमै खुलेका छन्।
नेपाल समूहमा प्रदेश( १ का १५ सांसद रहेको उक्त समूहको दाबी छ। आचार्यलाई मुख्यमन्त्री बनाउँदा त्यसको ठूलो संख्या आफूले एमालेमै राख्ने आचार्यले दाबी गर्दै आएका छन्। त्यहीअनुसार आचार्यले सांसदहरूलाई फकाउँदै पनि आएका छन्।







