काठमाण्डौ । सडक दुर्घटनामा परेर निधन भएका तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन प्रमुख जीवराज आश्रितको सम्झानामा आज नेपाल कम्युनिष्ट पार्टीले २८ औँ स्मृति दिवस मनाउँदै छ। तर, कोरोना सङक्रमण जोखिम र निषेधाज्ञाका कारण आज औपचारिक कार्यक्रम भने हुने छैन ।
नेपालको कम्युनिस्ट आन्दोलनलाई जनताको बहुदलीय जनवाद जबजमार्फत लोकतान्त्रिक मार्गमा लैजान मदन भण्डारीको महत्वपूर्ण भूमिका रहेको छ । मदन भण्डारी र जीवराज आश्रितलाई आदर्श नेताका रुपमा चिनिन्छ । मदन–आश्रित स्मृति दिवसका अवसरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले श्रद्धाञ्जली व्यक्त गरी जनताको बहुदलीय जनवादको सिद्धान्त मार्गदर्शनका रुपमा स्थापित भएको बताए । साथै उनले तीन वर्ष अघि एमाले र माओवादी केन्द्रबीच भएको एकता समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न गरिएको प्रयास भएपनि एकीकरणको अभियान निष्कर्षमा पुग्न नसकेको जानकारी दिए ।
अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा निरन्तर लागिरहने प्रतिवद्धता समेत जनाएका छन् । २०५० साल जेठ ३ गते दासढुंगामा भएको जीप दुर्घटनामा मदन भण्डारी र जीवराज आश्रितको निधन भएको थियो ।







