झापामा जाडो बढ्दै जाँदा विपन्न तथा सिमान्तकृत समुदायका बालबालिकाको स्वास्थ्य र शिक्षालाई ध्यानमा राख्दै रुद्र-गौरी श्री अम्बिका ओली प्रतिष्ठानले झापाका सामुदायिक विद्यालयहरूमा न्यानो कपडा वितरण अभियानलाई निरन्तरता दिएको छ ।
प्रतिष्ठानले मङ्गलबार शिवसताक्षी नगरपालिका-४ स्थित मञ्जुश्री आधारभूत विद्यालय र वडा नं.६ स्थित सरस्वती आधारभूत विद्यालयका विद्यार्थीहरूलाई जाडोमा लगाउन उपयुक्त न्यानो ट्रयाकसुट वितरण गरेको हो ।
उक्त कार्यक्रमबाट जम्मा १५६ जना विद्यार्थी लाभान्वित भएका छन् । जसमध्ये मञ्जुश्री विद्यालयका १०६ जना र सरस्वती विद्यालयका ५० जना विद्यार्थी रहेका छन् ।
प्रतिष्ठानका केन्द्रीय कोषाध्यक्ष यज्ञराज ओली (गोपाल)का अनुसार यो अभियान नयाँ नभई विगत एक दशक देखिको निरन्तर सञ्चालनमा रहेकोे कार्यक्रम हो ।
मंसिरको दोश्रो साता प्रतिष्ठानले कन्काई र भद्रपुर नगरपालिकाका सामुदायिक तथा धार्मिक विद्यालयमा अध्ययनरत आदिवासी जनजाति, दलित, सिमान्तकृत तथा अल्पसंख्यक समुदायका विद्यार्थीहरूलाई पनि न्यानो कपडा वितरण गरिसकेको छ ।
कार्यक्रममा शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ थोप्रा (रोशन) ले प्रतिष्ठानले समाजमा पुर्याएको शैक्षिक, आर्थिक, धार्मिक र सामाजिक योगदानको प्रशंसा गरेका थिए ।
शिवसताक्षी वडा नं.४ का वडाध्यक्ष विष्णु प्रसाईंले आफ्नो वडाका सबै सामुदायिक विद्यालयका विद्यार्थीहरूले न्यानो कपडा पाउनु गर्वको विषय भएको बताए । उनले अघिल्ला वर्षहरूमा त्रिभुवन मावि, पाथिभरा आवि र जनता आविका विद्यार्थीहरू जाडोमा लगाउने न्यानो लुगा पाएर लाभान्वित भइसकेका छन् । यस वर्ष मञ्जुश्री आधारभूत विद्यालय पनि समेटिँदा वडाका सबै सामुदायिक विद्यालय मा अध्ययन गर्ने विद्यार्थी लाभान्वित भएकोमा प्रतिष्ठानको खुलेर प्रशंसा गरेका थिए ।
मञ्जुश्री आधारभूत विद्यालयमा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष गंगाप्रसाद ओली र केन्द्रीय सदस्य नारदमणि न्यौपानेले प्रतिष्ठानको स्थापना, उद्देश्य तथा सामाजिक, शैक्षिक र राष्ट्रिय क्षेत्रमा पु¥याएको योगदानबारे प्रकाश पारेका थिए ।
त्यसैगरी सरस्वती आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा वडाध्यक्ष मनोज खुलाल कार्की, नेकपा एमाले नेतृ गोमा रिजाल, छिमेकी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष उदयप्रकाश राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।







