झापाको बाह्रदशी गाउँपालिका-५ स्थित घोडामारा आधारभूत विद्यालयमा स्थापना गरिएको सीता-भवानी खरेल अक्षय कोषबाट विद्यार्थीहरु पुरस्कृत भएका छन् ।
एक समारोहका बीच २०८१ सालको शैक्षिक सत्रबाट कक्षा ५, ६ र ७ बाट प्रथम हुने तथा कक्षा ८ बाट उत्कृष्ट नतिजा ल्याउने एकजना छात्र, एकजना छात्रा र एकजना सन्थाल समुदायबाट उत्कृष्ट नतिजा ल्याउने गरी जम्मा ६ जना विद्यार्थीलाई नगद पुरस्कार र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको थियो ।
उक्त समारोहमा कक्षा ५ बाट कृतिमा पौडेल, कक्षा ६ बाट विकास थापा, कक्षा ७ बाट खुसी दाहाल, कक्षा आठबाट सलिना चौहान, संसार भुजेल र सोनिया मुर्मुलाई जनही ३ हजार ४७० रुपैयाँ तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यदुराम उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि वडा सदस्य जयप्रसाद तिम्सिना रहेका थिए ।
उक्त अवसरमा कविता तथा गजल प्रस्तुत गर्दै दुर्गा मावि बिर्तामोडका शिक्षक एवं अक्षयकोष दाता परिवार सदस्य लता खरेलले विद्यार्थीहरूको निमित्त मोटिभेसनल प्रवचन गरेकी थिइन् ।
कार्यक्रममा अक्षय कोष सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्ष तुलसीराम खरेल र यदुराम उप्रेती लगायतले मन्तव्य राखेका थिए ।
सहायक प्रधानाध्यापक डिल्लीराम खरेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन प्रधानाध्यापक कमल चम्लागाईले गरेका थिए ।







