झापाको बिर्तामोडमा अवस्थित न्युटन्स एजुकेसन एकेडेमीले विद्यार्थीहरूलाई लक्षित गरेर सुरु गरेको नेतृत्व र व्यक्तित्व विकास सम्बन्धी तालिमलाई बुधबार पनि निरन्तरता दिएको छ ।
बिर्तामोडस्थित बिर्तापाटी प्यालेसमा मंगलबारदेखि सुरु तालिम अन्तरगत दोश्रो दिन कक्षा ६ र ७ का ६०० भन्दा बढी विद्यार्थीले प्रशिक्षणमा सहभागिता जनाएका थिए ।
उनीहरूलाई शैक्षिक प्रशिक्षक तथा परामर्शदाता वक्ता ईश्वर श्रेष्ठले प्रशिक्षण प्रदान गरिरहेका छन् । तालिम मङ्सिर ५ गतेसम्म चल्नेछ ।
विद्यालयका प्रिन्सिपल देवेन्द्र हुमागाईंका अनुसार सकारात्मक सोच, आत्मविश्वास निर्माण, तनाव व्यवस्थापन, अध्ययनमा ध्यान केन्द्रित गर्ने तरिका, समस्या समाधान लगायतका विषयमा कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरूलाई लक्षित गरी प्रशिक्षण सञ्चालन गरिएको हो ।
त्यस्तै बिहीबार कक्षा ४ का विद्यार्थी तथा एभरेस्ट स्मार्ट स्कूलका कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरूका लागि तालिम सञ्चालन गरिने विद्यालयले जनाएको छ । मङ्सिर ५ गते भने कक्षा ११ र १२ का विद्यार्थीहरूलाई लक्षित प्रशिक्षण हुनेछ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष धर्मा पराजुली पसाईंको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि प्याब्सन झापाका वरिष्ठ उपाध्यक्ष हरिकृष्ण पाठक रहेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि पाठक, बिर्तामोड उद्योग वाणिज्य संघका कोषाध्यक्ष युवराज निरौला लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा विद्यालयका डाइरेक्टर आशिष प्रसाईं, अभिभावक संघका सदस्य जर्नादन बास्कोटा व्यवस्थापन समिति सदस्य लगायतको उपस्थिति रहेको थियो ।
विद्यालयका एकाडिमिक इन्चार्ज परासर दाहालले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक पवित्रा पौडेलले गरेकी थिइन् ।







