झापाको बिर्तामोड-४ मा अवस्थित लिटल फ्लावर्स अंग्रेजी स्कुलले इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरीलाई मोटरसाइकल प्रदान गरेको छ ।
जेनजी आन्दोलनका क्रममा तोडफोड र आगलागीमा प्रहरीका सवारी जलेसँगै हाल प्रहरी कार्यालयमा सवारी साधन अभाव छ । सोहि अवस्थालाई मध्यनजर गर्दै स्कुलले एउटा मोटरसाइकल प्रहरीलाई दैनिक काम काज सहजताका लागि प्रदान गरेको हो ।
स्कुलका प्रवन्ध निर्देशक तथा समाजसेवी राजेश खड्काले करिव तीन लाख मूल्य बराबरको साइन १२५ सीसीको मोटरसाइकल स्कुलका प्रिन्सिपल डा.भिशाल तिम्सिना क्षेत्रीले विद्यालयका विज्ञापन खड्का र कमल बुढाथोकीको उपस्थितिमा इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी विजय श्रेष्ठ र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख गणेश पौडेललाई हस्तान्तरण गरेका हुन् ।
मोटरसाइकल हस्तान्तरण कार्यक्रममा बिर्तामोड-५ का वडाध्यक्ष रोहित प्रसाईं, इप्रका अनारमनी र ट्राफिक प्रहरी कार्यालयको भवन पुन: निर्माण तथा मर्मत सम्भारमा खटिंदै आएका अगुवा सजेश शिवाकोटी, बिपिन बजगाँई, पदम श्रेष्ठ, रमेश चौधरीलगायतको सहभागीता रहेको थियो ।







