गरामनी क्याम्पसको क्षतिग्रस्त भवन निर्माणका लागि बिर्तामोड-३ मा रहेको आदर्श स्कूल अफ म्यानेजमेन्ट र लिङ्कन मन्टेश्वरीले अग्रसरता लिएका छन् ।
बितामोड नगरपालिका वडा नं.९ मा अवस्थित क्याम्पसमा जेनजी आन्दोलनका क्रममा क्याम्पस आगजनीबाट भवन क्षतिग्रस्त हुनुका साथै धेरै सामाग्रीहरू जलेका छन् ।
क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि आफूहरूले अग्रसरता लिने निर्णय गरेको आदर्श स्कुल अफ म्यानेजमेन्टका संस्थापक सञ्जोग खरेलले आज आयोजित पत्रकार भेटघाटमा जानकारी दिए ।
उनले आन्दोलनको क्रममा यसरी शैक्षिक संस्थाहरूमाथि आक्रमण र आगजनी हुनु दु:खद भएको बताउँदै पुरानै वातावरणमा विद्यार्थीहरुलाई सहज तवरले पढ्नका लागि आफूहरुले सहयोग गर्ने घोषणा गरेको खरेलले बताए ।
क्याम्पसको पठनपाठनलाई पुरानै अवस्थामा फर्काउने गरी यी दुई निजी शैक्षिक संस्थाले अग्रसरता लिएपछि त्यसमा अरु संस्थाहरू पनि जोडिन थालेका छन् ।
लिङ्कन मन्टेश्वरी सञ्चालक सरोज पौडेलले यो अभियानमा अरु निजी शैक्षिक संस्था जोडिने क्रम सुरु भएको बताए ।
सामाजिक उत्तरदायित्व अन्तर्गत आफूहरूले यो अभियान सञ्चालन गर्न लागेको पौडेलको भनाइ छ ।
उक्त अभियानमा न्युटन्स एजुकेसन फाउन्डेसन, गोमेन्द्र बिर्ता मोडल स्कूल र निदि स्कूल पनि जोडिएका छन् ।







