१६ विद्यार्थी संगठनहरूले शतप्रतिशत खुला प्रतिस्पर्धाबाट मात्रै शिक्षक नियुक्ति हुनुपर्नेलगायत पाँच बुँदे माग राख्दै सरकारको ध्यानाकर्षण गराएको छ ।
नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीसहित १६ विद्यार्थी संगठनले ती माग राख्दै सोमबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापति अमरबहादुर थापालाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
उनीहरूले तत्काल शिक्षा विधेयक जारी गर्न माग गर,नेपालको संविधान, २०७२ को धारा ३१ मा व्यवस्था भएको शिक्षा सम्बन्धी हक बमोजिम प्रत्येक नागरिकले माध्यमिक तहसम्मको शिक्षा पूर्णत: नि:शुल्क प्राप्त गर्न पाउनुपर्ने व्यवस्था अविलम्ब अक्षरश: कार्यान्वयन गर्न पनि माग गरेका छन् ।
‘शिक्षा ऐन, २०२८ ले निर्माण गरेका विभिन्न प्रकारका शिक्षक र कर्मचारीहरूको उपयुक्त व्यवस्थापनको दायित्व राज्यले लिनुपर्ने र शिक्षकको योग्यता गुणस्तरीय विद्यालय शिक्षाको मानक भएकाले विद्यालयका शिक्षक नियुक्ति प्रक्रिया संविधानले अङ्गीकार गरेको समावेशी मूल्य मान्यतासहितको योग्यता प्रणालीमा आधारित शतप्रतिशत खुला प्रतिस्पर्धामार्फत मात्र हुने व्यवस्था विद्यालय शिक्षा ऐनमा सुनिश्चित गर्न संयुक्त विद्यार्थी सङ्गठन सरकार र सम्बन्धित निकाय समक्ष जोडदार माग गर्दछ,’ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
विद्यालय शिक्षा विधेयक विद्यार्थीहरूको प्रत्यक्ष सरोकार र चासोको विषय भएकोले संयुक्त विद्यार्थी संगठनको अनिवार्य सहभागितामा सर्वपक्षीय संवाद, वार्ता र छलफलमार्फत मात्र विधेयक अघि बढाउन पनि उनीहरूले माग गरेका छन् ।
‘त्रिभुवन विश्वविद्यालय लगायतका अन्य विश्वविद्यालयहरूको ऐनमा व्यवस्था भएको विद्यार्थीको प्रतिनिधिमूलक साझा संस्था स्वतन्त्र विद्यार्थी युनियन/कल्याण परिषद्को निर्वाचन अविलम्ब सम्पन्न गर्न नेपालमा स्थापित सम्पूर्ण विश्वविद्यालय समक्ष संयुक्त विद्यार्थी सङ्गठन जोडदार माग गर्दछ,’ध्यानाकर्षण पत्रमा उल्लेख छ ।








