सरकारले ल्याउन लागेको शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै आन्दोलित निजी विद्यालयहरूले आन्दोलका कार्यक्रमलाई निरन्तरता दिएका छन् ।
शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले पास गरेको प्रस्तावित शिक्षा विधेयकमा चारवटा बुँदा सच्चाउनु पर्ने माग राख्दै आन्दोलित बनेका निजी विद्यालयहरूको छाता सङ्गठनहरू प्याब्सन, एन-प्याब्सन र हिसानले आन्दोलनको पूर्व घोषित कार्यक्रम अनुसार शुक्रबार जिल्ला प्रशासन कार्यालय र शिक्षा, विकास तथा समन्वय इकाईको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएका हुन् ।
यसै क्रममा झापा जिल्लामा संगठित प्याब्सन, एन-प्याब्सन र हिसानका पदाधिकारीहरूले जिल्ला प्रशासन कार्यालय झापा पुगेर प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।
प्याब्सन झापा अध्यक्ष छत्रबहादुर कार्की, एन-प्याब्सन झापा अध्यक्ष प्रेम सुब्बा र हिसान झापा अध्यक्ष टेकनाथ भण्डारीले संयुक्त रुपमा हस्ताक्षर गरी बुझाएको ज्ञापनपत्रको वाचन प्याब्सन झापाका सचिव लक्ष्मीप्रसाद उप्रेतीले गरेका थिए ।
त्यस्तै प्रजिअ अधिकारी समक्ष निजी विद्यालयहरू आन्दोलित बनेको बारेमा एन-प्याब्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष जयबहादुर श्रेष्ठले जानकारी गराएका थिए भने सोही टोलीले शिक्षा, विकास तथा समन्वय इकाई पुगेर इकाई प्रमुख कुमार बस्नेतको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएका छन् ।







