झनकप्रसाद-खीनमाया कट्टेल समाज कल्याण प्रतिष्ठानले आदर्श मावि इटाभट्टालाई अत्याधुनिक दस थान कम्प्युटर सेट हस्तान्तरण गरेको छ ।
विद्यालय परिसरमा बिहीबार एक कार्यक्रमको आयोजना गरेर प्रतिष्ठानले कम्प्युटर हस्तान्तरण गरेको हो ।
हस्तान्तरण गरिएको कम्प्युटर ल्यावको मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले उद्घाटन गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख बुढाथोकीले संघीय सरकारले शिक्षा नीति संशोधन नगरेका कारण स्थानीय तहमा बजेटको अभावै अभाव रहेको बताए ।
प्रतिष्ठानका अध्यक्ष एवम् विद्यालयका पूर्व विद्यार्थी डम्बरु वल्लभ कट्टेलले आगामी दुई वर्षभित्र २० वटा कम्प्युटर दिने गरी यस वर्ष १० वटा कम्प्युटर हस्तान्तरण गरेका हुन् । अत्याधुनिक सुविधायुक्त एउटा कम्युटरको करिव एकलाख रुपैयाँ पर्ने बताइएको छ ।
पूर्व विद्यार्थी कट्टेलले यसअघि बुबा झनकप्रसाद कट्टेलको नाममा एक लाखको अक्षयकोष पनि खडा गरिदिएका छन् ।
कम्प्युर ल्यावमा यो दश वटा कम्प्युटर २५ वटा पुगेको छ । कक्षा १ देखि १२ सम्म अध्यायन गर्ने विद्यार्थीहरुलाई प्राविधिक शिक्षामा सहज हुँदै गएको छ ।
आदर्श माविका व्यवस्थापन समिति अध्यक्ष पूर्णबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा स्व.झनकप्रसाद कट्टेलकी पत्नी खीनमाया कट्टेल लगायत कट्टेल परिवार, वडा नम्बर ८ का वडाध्यक्ष गिरीराज धमला, वडा सदस्यहरु, प्रतिष्ठानका पदाधिकारीहरु, शिक्षक, विद्यार्थी, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।
प्रधानाध्यापक कृष्ण पुरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक लम्बोदर पौडेलले गरेका थिए ।







