सरकारले ल्याएको शिक्षा विधेयक प्रति असहमति जनाउँदै निजी विद्यालयहरूको छाता संगठन प्याब्सन र एनप्याब्सनले संयुक्त रुपमा स्थानीय तहमा ज्ञापनपत्र बुझाएका छन् ।
सरकारले ल्याएको विधेयकमा निजी विद्यालयहरुका मागहरु सम्बोधन नगरेको भन्दै चरणबद्ध आन्दोलन सुरु गरेका प्याब्सन र एनप्याब्सनले आज देशभरका ७५३ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई ज्ञापन पत्र बुझाएका हुन् ।
यसैबीच प्याब्सनको केन्द्रीय कार्यसमितिको निर्णयलाई एकेवद्धता जनाउँदै बिर्तामोड नगर प्याब्सनको तर्फबाट बिर्तामोड नगरपालिकाका प्रमुख तथा उपप्रमुखलाई ज्ञापनपत्र बुझाएको छ ।
उक्त ज्ञापनपत्र नगरप्रमुख पवित्रा महतरा प्रसाईं, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला र शिक्षा शाखा प्रमुख तिलचन भण्डारीलाई संयुक्त रुपमा हस्तान्तरण गरिएको थियो । उक्त ज्ञापनपत्र प्याब्सन बिर्तामोड नगर अध्यक्ष सुरेन्द्र खरेलले प्रस्तुत गरेका थिए ।
उक्त अवसरमा प्याब्सन वरिष्ठ उपाध्यक्ष एच.के पाठक, एनप्याब्सन जिल्ला उपाध्यक्ष मोहन आचार्य, जिल्ला सदस्य देवेन्द्र हुमागाई लगायतको उपस्तिथि रहेको कार्यक्रमको सञ्चालन नगर सचिव दिपाङ्कर मैनालीले गरेका थिए ।
उक्त ज्ञापनपत्र बुझ्दै नगर प्रमुख प्रसाईंले निजी विद्यालयका जायज माग सम्बोधनका लागि यस क्षेत्रबाट संघीय र प्रदेशमा निर्वाचित भएर गएका सांसदहरुलाई जानकारी गराउने र आवश्यक समन्वय नगरपालिकाको तर्फबाट गर्ने प्रतिवद्धता जनाएकी छन् ।
त्यस्तै उपप्रमुख संग्रौलाले जायज मागको सम्बोधनका लागि सम्बन्धित निकायमा कुरा गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
शिक्षा शाखा प्रमुख भण्डारीले शहरी क्षेत्रमा सामुदायिक विद्यालयले मात्र धान्न नसक्ने भएकाले संस्थागत विद्यालयलाई सम्बोधन गर्नुपर्ने बताए ।
चरणबद्ध आन्दोलन सुरु गरेका निजी विद्यालयहरूले साउन ३० गते शुक्रबार जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई र जिल्ला समन्वय मितिको कार्यालयमा ज्ञापन पत्र बुझाउने भदौ १ गते आइतबार प्रदेशमा मुख्यमन्त्री र सामाजिक विकास मन्त्रालयलाई ज्ञापन पत्र बुझाउने भदौ २ गते आ-आफ्नो निर्वाचन क्षेत्रका सङघीय प्रतिनिधि सभा/राष्ट्रियसभा सांसदहरूलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम अघि सारेका छन् ।
त्यस्तै भदौ २ गते सोमबार ६:३० वजे बेलुका सुझाव सङ्कलनका लागि राष्ट्रिय परिषदको जुम बैठक बस्ने, भदौ ३ गते हरेक पालिकामा पालिकास्तरीय समितिको आन्दोलन तयारी बैठक बस्ने, ४ गते प्रत्येका जिल्लामा जिल्लास्तरीय समितिको आन्दोलन तयारी बैठक बस्ने, ५ गते सातै प्रदेशमा प्रदेशस्तरीय समितिको आन्दोलन तयारी बैठक बस्ने भदौ ६ र ७ केन्द्र/प्रदेशस्तरमा सरोकारवालाहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम प्याब्सनले सार्वजनिक गरेको छ ।
प्याब्सन र एनप्याब्सनले पहिलो चरणको आन्दोलनपछि पनि माग बेवास्ता भए दोस्रो चरणको कठोर आन्दोलनमा जाने चेतावनी दिएका छन् ।







